• बुधबार-असार-२५-२०८२

आरजु बाहेक आउट : कांग्रेसको ‘गोप्य मन्त्र’

 

काठमाडौ । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा कांग्रेस नेताहरुले मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठाएका छन् । नौ महिनापछि बसेको केन्द्रीय कमिटीको बैठकमा मन्त्रीहरुले एक वर्षे कार्यकाल पूरा गर्दा पनि उल्लेख्य काम गर्न नसकेको विषय नेताहरुले उठाएका छन् । यद्यपि, मन्त्रीहरु परिर्वतन गर्ने कुरा भने बैठकमा नेताहरुले उठाएका छैनन् । तेजुलाल चौधरीलगायतका केही मन्त्रीले पनि आफूहरुले काम गर्न नसकेको स्वीकारेका छन् । 


  कांग्रेसका मन्त्रीहरुमध्ये अहिले काम नै नभएको भन्दै तीनजनामाथि नेताहरुले बढी प्रश्न उठाएका छन् । पर्यटनमन्त्री बद्री पाण्डे, युवामन्त्री तेजुलाल चौधरी र कृषि मन्त्री रामनाथ अधिकारीको विषयमा बढी प्रश्न उठाएका हुन् । उनीहरुको विषयमा प्रश्न उठ्नुका कारण चाहिं उनीहरु संस्थापन लाइनको नभएकोले पनि प्रश्न उठेको कांग्रेस स्रोतको भनाइ छ । पर्यटनमन्त्री पाण्डेविरुद्ध राजेन्द्र बजगाई सुरु देखि नै हात धोएर लागेका छन् ।

 

सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमा गालीगलौजमात्र होइन, पार्टीभित्र निवेदनसमेत दिएका छन् मन्त्री बद्री पाण्डेविरुद्ध । त्यसैले, बजगाईले आफू पर्यटन मन्त्री हुन क्याम्पेन चलाएका छन् पाण्डेविरुद्ध । त्यसबाहेक यी तीन नेताको सन्दर्भमा  चाहिँ शेखर कोइरालानिकट भएका कारणले पनि बढी प्रश्न उठेको स्रोतको दावी छ । स्रोतका अनुसार, चौधरी चाहिँ राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट मन्त्री भएका कारण उनको विषयमा भने कम प्रश्न उठेको छ । तर, काम गर्ने शैलीमा भने उनी निकै कमजोर रहेको नेताहरुको भनाइ छ । 


यता, भिजिट भिसामा बद्नामी कमाएका गृह मन्त्री रमेश लेखक र आरजु राणाको विषयमा भने कुनै पनि प्रश्न उठाउन सकेका छैनन् । लेखकको विषयमा केही प्रश्न उठेपनि देउवाको विश्वासपात्र भएका कारणले उनीहरुको विषय प्रश्न नउठेको पनि चर्चा छ । तर, मन्त्री लेखक नै अहिले सबैभन्दा विवादमा रहेका छन् । उनको राजीनामा मागेर विपक्षी दलहरुले संसद अवरोध जारी राखेका छन् । 


त्यसो त, कांग्रेसभित्र पनि सुषुप्त रुपमा मन्त्रीका लागि लवि भने बढ्न थालेको छ । त्यसमा अहिले केही सिनियर नेताहरु नै मन्त्री बन्ने लाइनमा रहेको पनि बताइन्छ । कतिपयले गगन थापा पनि मन्त्री बन्न चाहिरहेको बताइरहेका छन् । उनी अर्थमन्त्री हुन चाहन्छन् भनेर कांग्रेस नेताहरुले टिप्पणी गरिरहेका छन् । मन्त्रीहरु हेरफेर भएमा मन्त्रालय पनि हेरफेर हुन सक्ने बताइरहेका छन् । त्यतिबेला गृह एमाले र अर्थ कांग्रेसले लिने संभावना रहेको पनि बताइन्छ । कांग्रेसले मन्त्री फेर्दा आरजुबाहेक सबै फेरिने चर्चा कांग्रेसभित्र भइरहेको छ । (साँघु साप्ताहिक, २०८२ असार २३)
 

प्रतिकृया दिनुहोस