• शुक्रबार-श्रावण-२३-२०८२

गठबन्धनमा ‘मन्त्री संकट’ : प्रधानमन्त्री असहाय ?: ओलीको हतारोमा, देउवाको रहस्यमय तगारो !

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रीहरु हेरफेरका लागि लामो समयदेखि प्रयासरत रहेका छन् । आफ्नो पार्टीका केही र कांग्रेसबाट मन्त्री भएका केहीलाई हेरफेर गर्न खोजिरहेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको अडान भने मन्त्री नफेर्नेमा देखिन्छ । सभापति देउवाको यो अडानका कारण ओलीको चाहना विगत ६ महिनादेखि रोकिएको छ । खासमा एमालेबाट मन्त्री भएका केहीलाई ओलीले फेर्न चाहेका छन् । ती फेर्दा कांग्रेसका पनि  केही कमजोर कार्यसम्पादन भएका मन्त्रीहरु हटाउन चाहेका हुन् । 


त्यसको रणनीतिक चाहना के छ ? प्रधानमन्त्री ओलीसँग भन्ने चाहिँ खुलेको छैन । तर, ओलीले मन्त्रीको कमजोर कार्यसम्पादनलाई देखाएर हटाउन खोजेको स्रोतको दावी छ । तर, देउवाले भने आफ्नो पार्टीको रणनीतिलाई हेरेर निर्णयमा अडान लिएको देखिन्छ । 


सभापति देउवा अहिले तीनजना मन्त्रीलाई चलाउन सक्ने अवस्थामा देखिएका छैनन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक आफ्नै समूहका नेता भएर पनि हटाउन सक्ने अवस्थामा छैनन् । आफ्नो समूहमा नभए पनि समूहगत रुपमा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई हटाउन सकिने अवस्था पनि छैन । त्यसैले, यी तीनजनालाई हटाउन नसक्दा केही मन्त्रीहरु हटाउनुपर्ने हुन्छ, जसमध्ये देउवाको चाहना पर्यटन मन्त्री वद्री पाण्डे, कृषि मन्त्री रामनाथ अधिकारी, वन मन्त्री ऐनबहादुर शाहीलगायतका केही मन्त्री हटाउनुपर्ने हुन्छ । 


  यी मन्त्रीहरुलाई हटाउँदा देउवामाथि शेखर कोइरालाको समूहका मन्त्रीहरुमात्रै चलाएको आरोप लाग्छ । ती मन्त्री हटाउँदा पनि देउवाले आफ्नो समूहभन्दा पनि शेखरकै रुची अनुसार उनको समूहका नेतालाई मन्त्री बनाउनुपर्ने हुन्छ । जुन कांग्रेसको आन्तरिक जीवन र रणनीतिका रुपमा अर्थपूर्ण हुनेछ । प्रकाशनमान सिंहलाई हटाएर उनको कोटाबाट राजेन्द्र केसीलाई मन्त्री बनाउन सकिने भएपनि सिंह मन्त्री छोड्ने पक्षमा छैनन् । सिंहको व्यवस्थापन देउवाका लागि अर्थपूर्ण पनि रहेको छ । आउँदो महाधिवेशनलाई पनि ध्यान दिएर सभापति देउवाले मन्त्रीहरु फेर्नु पर्ने हुन्छ ।


  संघीय सरकारमा मन्त्री हेरफेर हुँदा प्रदेशमा पनि रोग सर्ने संभावना रहेको छ । त्यो संभावनाको संकेत कोशी र मधेश प्रदेशमा भइसकेको छ । मन्त्री र मुख्यमन्त्रीको प्रकरणले गर्दा कतिपय प्रदेशमा नेताहरुले कित्ता परिवर्तन गर्न थालिसकेका छन् । मधेश प्रदेशमा देउवाका निकट मानिएका रामसरोज यादवले गुट परिवर्तन गरेर शेखर कोइराला समूहमा औपचारिक रुपमै खुलेका छन् । अघिल्लो साता यादवले कोइरालाको समूहमा प्रवेश गरेका थिए, जुन सभापति देउवाका लागि झड्का लाग्ने अवस्था हो । त्यसमाथि विमलेन्द्र निधिका लागि त सबैभन्दा ठूले झड्का हो । त्यस्तो झड्का केन्द्रमा लाग्न नदिने नीतिमा देउवा रहेका छन् ।


  अहिले मन्त्री चलाएर केही मन्त्री बनाउने केही आकांक्षीलाई छोडिदिने हो भने कांग्रेसमा असन्तुष्टहरु थप बढ्ने संभावना रहेको छ । त्यो संभावनाका कारणले गर्दा देउवा मन्त्रीहरु हेरफेर गर्न नचाहेका हुन् ।  देउवाले मन्त्री हेरफेर गर्न नचाहँदा ओलीले विवादास्पद मन्त्रीलाई पनि हटाउन भने सकेका छैनन् । ओलीले तत्काल हटाउनुपर्नेमा बद्नाम भूमिसुधार मन्त्री वलराम अधिकारीलाई पनि हटाएका छैनन् । 


ओलीले हटाउन खोजेको मन्त्रीमा दामोदर भण्डारी पनि रहेको चर्चा छ । काम नगरेको आरोप भने भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालमाथि पनि प्रधानमन्त्री ओलीको रहेको छ । तर, यी सबै मन्त्रीलाई हटाउन ओलीले सकेका छैनन् । खासमा देउवाको अडानले गर्दा उनीहरुको मन्त्रीको कार्यकाल पनि लम्बिदै गएको सिंहदरबारमा चर्चा भइरहेको छ । 


त्यसो त, अ‍ोलीले अशोक राईको पार्टीमाट मन्त्री भएका नवलकिशोर साह सुडी र प्रदीप यादवलाई पनि परिवर्तन गर्न चाहेका छन् । अझ राईको पार्टी जसपाले सुडीलाई केही समयअघि नै हटाउन खोजेको थियो । उनीहरुलाई पालैपालो मन्त्री बनाउने सहमतिपछि मन्त्री भएका थिए । पालो आए पनि मन्त्री नभएका कारण जसपाभित्र असन्तुष्टि भने बढ्दै गएको छ । (साँघु साप्ताहिक, २०८२ साउन १९)
 

प्रतिकृया दिनुहोस