• शुक्रबार-श्रावण-२३-२०८२

करोडौंका उपकरण किन कामविहीन ? : प्रत्यारोपणका डा.श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी

 

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको अत्याचारले सीमा नाघेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनको कार्यशैली र अत्यारविरुद्ध अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र स्थानीय बासिन्दाहरुले पटक पटक सचेत गराउँदै आएका थिए । तर, सुनुवाई गर्नुको साटो उनी एकलौटीमा रुपमा अगाडि बढेपछि बाध्य भएर अख्तियार गुहार्नु परेको पीडितहरुले जानकारी दिए । पछिल्लो पटक २०७८ असोज ६ गते तेस्रो कार्यकालका लागि श्रेष्ठलाई  केन्द्रको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गरिएको थियो । 


६० वर्ष उमेरहदका कारण सेवा निवृत्त भइसकेका स्वास्थ्य सेवा ऐन विपरीत नियुक्त गरिएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको  थियो । सो मुद्दाको सुनुवाई नभएको र विचाराधीन अवस्थामा रहेको बताइन्छ ।  श्रेष्ठको सेवा अवधि बढाउन राष्ट्रिय अंग प्रत्यारोपण विकास समिति गठन आदेश, २०६८ को दफा ६ उपदफा ३ मा (३ क) थप गरिएको समाचार स्रोतले दावी गरेको छ । उमेरहदका कारण अनिवार्य अवकाशमा गएपनि केन्द्रको कार्यकारी निर्देशकमा नै निरन्तरता दिनेगरी त्यसबखत गठन आदेश नै संशोधन गरिएको स्रोतको दावी छ । 


राजनीतिक पहँुच र शक्ति भिडाएर उनले मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संसोधन) आदेश संशोधन गराएका थिए । संशोधित आदेश २०७९ ‘(३ क) उपदफा (२) बमोजिम कार्यकारी निर्देशकमा नियुक्त भएका चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमासमेत उपदफा (३) बमोजिमको अवधिसम्म कार्यकारी निर्देशकको पदमा बहाल रहिरहन बाधा पर्ने छैन ।’ श्रेष्ठले ६० वर्ष उमेरहद नाघिसक्दा पनि मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश संशोधन गरेर नियुक्ति लिएका थिए ।


तेस्रो कार्यकालका लागि अस्पताल भित्रिएपनि त्यसयता उनको नियुक्ति निरन्तर रुपमा विवादमा पर्दै आएको छ । उमेरहद विपरीत सरकारले गठन आदेश संशोधन गरेर नियुक्ति गरेको र खारेजीको मागसहित रिट दायर पनि समयमा छिनोफानो नहुँदा उनले निरन्तरता पाउँदै आएका छन् । करिब डेढ दुई महिना कार्यकाल बाँकी रहेका डा. श्रेष्ठको नियुक्ति र गतिबिधिहरु एकाधिकारपूर्ण रहेको भन्दै अस्पतालका कर्मचारी मात्र नभइ स्थानीयबासीसमेत रुष्ट हुँदै आएका छन् । उनका यी गबितिधिविरुद्ध केही चिकित्सक र स्थानीयले निरन्तर रुपमा आन्दोलन पनि गर्दै आइरहेको बताइन्छ । 


कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् उमेरहद नलाग्ने व्यवस्था गरिएसँगै अस्पतालमा कार्यरत कार्डियोभास्कुलर सर्जन डा. संजीतकुमार शाह र डा.अनिशा तिवारीले सर्वोच्चमा रिट दायर गरेका थिए । उनलाई नियुक्त गर्नकै लागि तत्कालीन स्वास्थ्य सचिव डा. रोशन पोखरेलले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । त्यतिमात्र होइन, नियुक्तिको लागि श्रेष्ठले ठूलै लगानी गरेको चर्चासमेत त्यसबखत नचलेको भने होइन । उनको नियुक्त लगत्तै अनावश्यक रुपमा अस्पतालका लागि ठुलो बजेटको स्वास्थ्य उपकरण र सामग्री खरिद गरिएको थियो । खरिद  भएका उपकरण त्यसै थन्क्याइएको विषयमा चिकित्सकहरुले प्रश्नसमेत उठाएका थिए । लगत्तै श्रेष्ठले उनीहरुलाई स्पष्टीकरणको मौकासमेत नदिई निश्कासन गर्दासमेत तत्कालीन सचिव पोखरेल मौन बसे । 


कार्यकारी निर्देशक श्रेष्ठको मनोमानी बढ्दा जनताले तिरेको करबाट खरिद गरिएका करोडौंका स्वास्थ्य उपकरणहरु हाल उपयोगविहीन हुँदा खिया लागेर अलपत्र अवस्थामा पारिएको स्रोत बताउछ । यस्ता गलत र गैरकानूनी कार्यविरुद्ध अस्पतालमा कार्यरत कर्मचारी, चिकित्सक, बिरामी र स्थानीय बासिन्दालगायतले पटक पटक उजुरी दर्ता गरेपनि अख्तियारद्वारा अनुसन्धान र कारवाही अगाडि बढ्न नसकेको गुनासो गरेका छन् ।


 पीडितहरुले २०८१ साउन २७, २०८० चैत्र १२ गते क्रमश सी ००८५६९ र ६५२३४३ मा आयोगमा उजूरी मुद्दा दर्ता गराइएको बताएका छन् ।  डा. श्रेष्ठबिरुद्ध तीनजना कलेजोका बिरामीको कानूनविपरीत प्रत्यारोपण गरेको मुद्दासमेत आयोगमा परेको बताइन्छ । २०७३ माघ १६ मा नेपाल सरकार (खण्ड ६६) अतिरिक्ताङ्क १४ ‘क’ नेपाल राजपत्र भाग ३ मा सो विषय प्रकाशित भइसकेको स्रोत बताउछ ।


जसमा कलेजो प्रत्यारोपणका लागि डकम्पेनसैटेड सिरोसिस (Decompensated Cirrhosis) भएका बिरामीहरुले चाहिने मापदण्ड श्रेणी मिडल फर इन्ड स्टेज लिभर डिजिज’ तालिका ए प्राप्ताङ्क १५ भन्दामाथि हुनुपर्ने व्यवस्था गरिएको छ । यो विषय स्पष्ट हुँदाहुँदै कार्यकारी निर्देशक श्रेष्ठले १५ भन्दा कम अंक भएको एमइएलडी १० को एक, १२ भएका दुई जना बिरामीको कानूनमा उल्लेख भएको व्यवस्था विपरीत प्रत्यारोपण गरेको आरोप छ । यो विषयमा पनि उनीमाथि गम्भीर छानबिन हुनुपर्ने माग आयोगमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । 


त्यसअघि पनि नक्कली आफन्त व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोप उनीमाथि लागेको थियो । केन्द्रले मिर्गौलासहित कलेजो, फोक्सो, मुटुको उपचार गर्ने अधिकार पाएको छ । तर, अहिले मिर्गौलाको उपचारलाई मात्र फोकस गरिएको स्रोतको भनाई रहेको छ । डा. श्रेष्ठ आफू किड्नीको डाक्टर भएकाले सो रोगलाई मात्र प्राथमिकता दिएर उपचार गरेर चिकित्सकहरुले दावी गरेका छन् । अस्पतालले चिकित्सकलाई दिने सुविधा कटौती र भएका स्वास्थ्य उपकरणलाई प्रयोगविहीन बनाएको आरोप पनि उनीमाथि बाराम्वार लाग्दै आएको छ । प्राय सेवा सुविधा र उपकरण हुँदाहुँदै पनि स्थान, दक्ष जनशक्ति अभाव देखाएर अरु सेवा संचालन गर्न नसकिएको भनेर उनी उम्किने गरेको आरोप पनि लाग्ने गरेको छ ।


भएका डाक्टरलाई कारबाही गरेर हटाउने र त्यसपछि महंगो शुल्क दिएर झिकाएर सेवा दिएको नाममा बिरामीको ढाड सेक्ने काम गरेको आरोपसमेत उनीमाथि लगाइएको छ । यी र यस्ता विषयमा अस्पतालका कर्मचारी, चिकित्सक र स्थानीय बासिन्दाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पटक पटक ध्यानाकर्षण गराइसकेको स्रोत बताउछ । मन्त्री पौडेलसहति त्यसअघिका तीनजना स्वास्थ्य मन्त्रीलाई भेटेर समस्याका बारेमा अवगत गराएको भएपनि सुनुवाइ हुन नसकेको पीडितहरुले गुनासो गरेका छन् ।


अर्को रोचक र उदेक लाग्दो विषय त अस्पतालमा पर्याप्त स्वास्थ्य उपकरण रहेको छ । तरपनि, मुटु, कलेजो र फोक्सोको शीर्षकमा बेग्लाबेग्लै रुपमा बजेट आइरहेको पनि छ । तर, बजेटको सदुपयोग भन्दा बढी दुरुपयोग गरिएको पीडितहरुको गुनासो रहेको छ । केन्द्रमा आवश्यक उपकरण, जनशक्ति र भौतिक पूर्वाधारको अभाव भनेर डा. श्रेष्ठ उल्टै प्रचारबाजीमा लागेको स्थानीयहरुको भनाई छ । 


यतिसम्मकि हप्तामा करिब १० वटा भस्कुलर सर्जरी गर्न सकिने क्षमता अस्पतालको रहेको छ । तर, उपकरण बिग्रेको भन्दै सेवा बन्द गरिएको स्रोत बताउँछ । अझ हप्ताको १० वटासम्म हुँदै आएको कलेजोको अप्रेशनसमेत बन्द गराइएको स्थानीय बासिन्दाहरुले बताएका छन् । मुटु र फोक्सोको उपचारको लागि ल्याएको उपकरणसमेत प्रयोगमा नल्याई थन्क्याइएको कर्मचारीहरूले जानकारी दिएका छन् । नेपालमा बिरलै अस्पतालमा उपलब्ध इक्मो मेसिनसमेत थन्क्याएर राखिएको उनीहरुको गुनासो छ ।


इन्डोस्कोपी मेसिन चालु हुँदाहुँदै कमिशनको लोभमा परेर नयाँ मेसिन खरिद गर्न प्रक्रिया अगाडि बढाइएकोमा कर्मचारीहरू थप असन्तुष्ट हुन पुगेका छन् । भेन्टिलेटरबाट पनि बाँच्न नसकेका विरामीलाई अति विशिष्ट उपचारबाट बचाउन सकिने माथि उल्लेखि इक्मो मेसिन र हर्टअट्याक भएका विरामीलाई तुरुन्तै बचाउनसक्ने अति संवेदनशील क्याथल्याब उपकरणसमेत अस्पतालमा रहेको भएपनि प्रयोगविहीन बनाएर थन्क्याइएको स्रोत बताउछ । मुटुको वाइपास अप्रेशनलगायत जटिल अप्रेशनहरुमा प्रयोग गरिने हर्ट लङ मेसिनका साथै आईएबीपी जस्ता करोडौँ मूल्यका उपकरण प्रयोगविहीन बनाएर थन्कइएको स्रोतको भनाई रहेको छ । (साँघु साप्ताहिक, २०८२ साउन १९)
 

प्रतिकृया दिनुहोस