काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र सचिव हरिप्रसाद मैनालीले पशुपति क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्ति गर्ने तयारी गरेको खबर छ । ०८२ असार ८ गते तत्कालीन सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरूद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । लगत्तै कोषका सदस्य सचिव, कोषाध्यक्ष र सदस्य निलम्बनमा परेका थिए ।
उनीहरूको पदावधि २०८२ भदौ १७ गते सकिंदैछ । त्यसपछि रिक्त पदमा नियुक्तिका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटहरुले चलखेल सुरु गरिसकेका छन् ।
नियुक्ति हात पार्न धार्मिक र सांस्कृतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूले राजनीतिक पहुँच र बिचौलियामार्फत सदस्य, कोषाध्यक्ष र सदस्य सचिवको लागि करोड÷करोड बुझाएर नियुक्ति लिन जोडबल गरिरहेको चर्चा छ । सदस्य सचिवमा नियुक्तिको लागि काठमाडौं चावहिल निवासी विश्वमित्र पौडेल, दोलखाका फिल्म निर्देशक डम्बर खतिवडा (सञ्जय)ले इच्छा व्यक्त गरेको चर्चा छ । पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा श्रीपशुपतिनाथ मन्दिरको पहिलो नेपाली मूलभट्टको नियुक्ति लिन सफल नुवाकोटका डा. विष्णु दाहालले पनि लबिङ गरिरहेको स्रोतले जानकारी दिएको छ ।
उनीहरुसँगै नेपाली कांग्रेसका सोलुखुम्बुका नेता शम्भूहरि बास्तोला, ओखलढुंगाका डा. बासुदेव शास्त्री कोइरालालगायत राजनीतिक दल निकट केही नेता, पण्डित र धार्मिक व्यक्तिहरू पनि राम्रै थैली खोल्ने मनसायका साथ पर्यटन मन्त्रालयमा धाउन सुरु गरिसकेको स्रोत बताउछ । त्यसो त माओवादी केन्द्र निकट रहेर कोषमा चारवर्ष प्रमुख प्रशासकीय अधिकृत खाएर अवकास भइसकेका र विद्युतीय शवदाह गृहको उपकरण खरिदमा अख्तियारले डामेका डा. घनश्याम खतिवडाले पनि पुन जोडबल गरिरहेको स्रोतको दावी छ ।
उनले आफू नियुक्ति खान नमिल्ने भएपछि फिल्मी कलाकार एवम् निर्देशक भतिज सञ्जय खतिवडा (डम्बर)लाई बनाउने भित्री योजनामा लागेको स्रोत बताउछ । करोड खर्चिएर भएपनि भतिजलाई सदस्य सचिव बनाउने गरी दौडधुपमा लागेको मन्त्रालयमा चर्चा हुने गरेको छ । चारवर्ष कोषमा प्रशासन चलाएका घनश्यामले भतिज सञ्जयलाई सदस्य सचिवको कुर्सीमा बसाएर आफूले भने बाहिरबाटै सदस्य सचिवको भूमिका निभाएर कोष हाँक्ने दिवासपना बोकेर हिंडिरहेको बताइन्छ ।
उनले भतिज सञ्जयका लागि नियुक्ति दिलाउन सिनामंगलस्थित घर बैंकमा राखेर पाँच करोडसम्म ऋण लिनेगरी प्रक्रियासमेत अगाडि बढाईसकेको सिने क्षेत्रमा चर्चा चल्ने गरेको छ । घनश्यामले नेपाल चलचित्र विकास बोर्डमा नियुक्ति खान चलखेलमा लागेका थिए । तर, सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूले दिनेश डिसी जस्ता क्षमतावान, विवादरहित कलाकार, लेखक, उद्घोषकलाई नियुक्ति गरेका थिए । कोषको सदस्य सचिवमा नियुक्तिका लागि दौडधुपमा लागेका विश्वमित्र पौडेल भने नेपालीकांग्रेस संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला निकट मानिन्छन् । फिल्मीकर्मी डम्बर खतिवडा राजनीतिमा त्यति नखुलेका तर शक्ति केन्द्रको भरमा सदस्य सचिव पद अवसर पाउन सकिन्छ भनेर दौडिने फिल्म निर्देशक र कलाकार हुन् ।
उता, नुवाकोटका दाहाल भने वाल्मिकी क्याम्पसका प्राध्यापक र धार्मिक क्षेत्रमै लागेका धार्मिक विद्वान व्यक्तित्व पनि हुन् । दाहाललाई माओवादी केन्द्रका मन्त्री गोपाल किरातीले इतिहास तोड्दै २०६५ सालमा पशुपतिनाथको भारतीय मूलका मूल भट्टलाई हटाएर उनलाई बनाएका थिए । उनी अहिले पनि माओवादी केन्द्र निकट मानिन्छन् । तरपनि, संगठनमा भने खुलेर लागेका छैनन् ।
अर्का प्रतिस्पर्धी डा. बासुदेव कृष्ण शास्त्री भने ख्यातिप्राप्त ज्योतिष मानिन्छन् । उनी बाराणासीस्थित हिन्दु विश्वविद्यालयमा पढेका धार्मिक व्यक्तित्वसमेत हुन् । सोलुका बास्तोला भने विश्व हिन्दु महासंघका वर्तमान महासचिव रहेका छन् । वाल्मीकि क्याम्पसबाट धार्मिक शास्त्र र बेदान्तमा स्नाकोत्तर गरेका बास्तोला सोलु कांग्रेस नेतासमेत हुन् । उनी कांग्रेस भित्रपनि सभापति शेरबहादुर देउवा निकट नेता रहेको बताइन्छ । कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ प्रमुख रहेको उद्योग, व्यवसाय र व्यापार विभागका सदस्यसमेत रहेका छन् ।
बाँस्तोलाको संस्थापनइतरका नेता बलबहादुर केसीसँग पनि राम्रो सम्बन्ध रहेको स्रोतको दावी छ । भारतीय जनता पार्टीका नेता, भारतीय हिन्दु संगठन र हिन्दु स्वयमसेवक संघ (आरएसएस)सँग पनि सम्बन्ध अति निकट रहेको स्रोतले बताएको छ । पर्यटन मन्त्री पाण्डे डा. शेखर कोइरालानिकट रहेकोले बास्तोलाको नियुक्तिको सम्भावना न्यून रहेको बताइन्छ । अर्काेतिर, बाँस्तोलाले थैली बुझाएर कोषको सदस्य सचिवमा नियुक्ति नखाने अडानमा रहेको चर्चा छ । त्यसैले बिचौलियाको प्रभावमा परेका मन्त्री पाण्डेले उनलाई सदस्य सचिवमा नियुक्ति गर्ने सम्भावना अति नै न्यून रहेको मन्त्री पाण्डेको सचिवालय स्रोतले बताएको छ ।
उता, नेता कोइरालानिकट रहेका डा. बासुदेव कृष्ण शास्त्री पनि मन्त्री पाण्डेलाई राम्रै थैली बुझाएरै भएपनि सदस्य सचिव हुन तयार भएर लागेको स्रोत बताउँछ । थैलीका लागि पौडेल, खतिवडा, दाहाल र बासुदेवमध्ये एकलाई कोषको सदस्य सचिव बनाउन दैनिक गोप्य भेटघाट र छलफल गरिरहेको बुझिएको छ । बाँस्तोलालाई भने अघिल्लो कार्यकालमै कांग्रेस नेता विजयकुमार गच्छदारले कोषको सदस्य सचिव बनाउने आश्वासन दिएका थिए ।
यतिखेर पनि कोषको सदस्य सचिवमा दररेट तोकेरै उठ्तिपुठ्तीको खेल चलिरहेको चर्चा छ । पशुपतिनाथ मन्दिर वरपरको क्षेत्रमा गुरु योजना अनुसार निर्माण कार्य सम्पन्न गर्न, नित्य पूजालाई नियमित, भेटीघाटीलाई कोषको आम्दानीमा बाँध्न, पशुपतिनाथ गुठीको जग्गा, नगद, अन्य जिन्सी सम्पतिको संरक्षण व्यवस्थित रुपमा हुन सकिरहेको छैन । त्यसलाई आम्दानीमा परिणत गर्न, पशुपतिनाथ परिसरको जग्गा भाडामा भैरहेको अनियमितता रोक्न, व्यवस्थित रूपमा पशुपति क्षेत्रको जग्गामा व्यापार–व्यवसाय सञ्चालनका लागि सक्षम नेतृत्वको खोजी हुँदै आएको छ ।
अझ फुटपाथको व्यापार नियन्त्रण गर्न, कोषका कर्मचारीहरूलाई अनुशाशित र जिम्मेवार बनाउन, पशुपतिका भण्डारी, भट्ट, मूल भट्टहरूलाई नियम कानूनमा बाँध्न, पशुपतिमा भारतले बनाइदिएको भवनमा कोषबाट गेष्ट हाउस सञ्चालन, अव्यवस्थित विद्युतीय शवदाह गृह, आर्यघाटलाई व्यवस्थित सफासुग्घर रूपमा सञ्चालन गर्न पनि इमान्दार, नैतिकवान नेतृत्व हुनुपर्ने माग भइरहेको छ । मठ, मन्दिरहरूको जिर्णोद्धार, मर्मत र विश्वका हिन्दु धर्मावलम्बीहरूलाई आराध्यदेव श्री पशुपतिनाथ मन्दिरमा दर्शन, पूजा गर्न सहज व्यवस्था मिलाउन पनि दाहाल, बाँस्तोला र डा. शास्त्री जस्ता व्यक्तिहरुलाई नियुक्ति गर्नुपर्ने चर्चा भइरहेका छन् ।
धर्मशास्त्र, शिव महिमा बुझेका, पढेका, विद्वान धार्मिक व्यक्तिहरूलाई सदस्य सचिव नियुक्त गर्नसके श्री आराध्यदेव पशुपतिनाथ क्षेत्रले काँचुली फेर्नसक्ने धार्मिक क्षेत्रका जानकारहरू बताउछन् । विगत दुई कार्यकालदेखि कोषमा खराव आचरण बोकेका व्यक्तिलाई सदस्य, कोषाध्यक्ष र सदस्य सचिव नियुक्ति गरिएको थियो । जसले कोषलाई बद्नामा मात्र गरेका छैनन्कि भ्रष्टाचारसमेत मौलाएको छ । कोषमा भ्रष्टाचारको अनेकौं श्रृंखला चलिरहेको छ । कोषमा शवदाह मेसिन खरिदमासमेत भ्रष्टाचार भएको थियो ।
अख्तियारले शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा प्रतिवादीविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गरी सदस्य सचिव थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्रीविरुद्ध पनि मुद्दा दायर गरेको छ । यसैगरी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, निमित्त उपनिर्देशक सीताराम रिसालबिरुद्ध पनि मुद्दा दायर गरिसकेको छ । आयोगले सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरीविरुद्धसमेत मुद्दा दायर गरेको छ ।
त्यसैगरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति विकास कोषका कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापाविरुद्ध कैद र जरिवाना तथा हिनामिना भएको रकम असुल उपरको माग दाबीसहित मुद्दा दायर गरेको छ । आयोगल उपकरण आपूर्तिकर्ता म्याप इन्ट्रप्रेनर प्रा.लि.का सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराईलाई पनि प्रतिबादी बनाएको छ ।
उनीहरुलाई पनि संयुक्त रुपमा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ । एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध कायम गरेको बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ । हाल यो मुद्दा विशेष अदालतमा बिचाराधीन अवस्थामा रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ साउन २६)
प्रतिकृया दिनुहोस