• शुक्रबार-भदौ-२०-२०८२

लिङ्देनको पेलाईमा महामन्त्रीद्वय परेपछि...

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शक्ति केन्द्रीकरणलाई निकै बढाएका छन् । असन्तुष्ट पक्षलाई दबाबमा राखेर नै उनले निर्णयहरु लिन थालेका छन् । असन्तुष्ट पक्षले पार्टीका विभिन्न कमिटीमा गरेका निर्णयमाथि पनि प्रश्न उठाएका छन् । र, पार्टी कार्यालयमा असन्तुष्टि पत्र दर्ता पनि गरेका छन् । महामन्त्रीद्वय धवल शमशेर राणा र कुन्ती शाहीकै अगुवाईमा उक्त पत्र दर्ता भएको छ ।

यो दोस्रो पत्र हो । तर, अध्यक्ष लिङ्देन भने उक्त कुरालाई स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । असन्तुष्ट पक्षको स्वर बलियो बन्न थालेको भएपनि उनले आफ्नो निर्णयलाई भने निरन्रतता  दिइरहेका छन् । केन्द्रीय कमिटी बैठक बोलाउने र असन्तुष्टिहरु सुन्ने लाइनमा पनि अध्यक्ष देखिएका छैनन् । 


  राप्रपा स्रोतका अनुसार, रुपन्देही ३ को उपचुनावको उम्मेदवार बनाउन पनि अध्यक्ष लिङ्देन एक्लै निर्णय लिने पक्षमा रहेका छन् । स्रोतका अनुसार, त्यसैका लागि राप्रपाले आफ्ना आकांक्षीहरुसँग छलफल गरिरहेका छन् । चार जना मुख्य आकांक्षी देखिएका छन् । त्यसमा पनि तीनजना चाहिँ पूर्वसांसद दीपक बोहोराको परिवारसँग जोडिएका छन् । दुईजना छोराहरुले आकांक्षा राखेका छन् भने एकजना नातिनी रहेकी छिन् । 


 दुवै छोराहरु भने बोहाराका सौताका छोराहरु हुन् । एकजना राप्रपामा केही समयदेखि सक्रिय छन् भने एकजना चाहिँ पाइलट हुन् । दुवै दाबेदार हुन् । एकजना गौरव बोहोरा राप्रपाको राजनीतिमा छन् भने प्रज्जवल बोहरा चाहिँ पाइलट हुन् । उनीहरु दुवै दाबी गरिरहेका छन् ।

अनि नातिनी स्वाती थापा पनि दाबी गरिरहेकी छिन् । पार्टीको कार्यकर्ता जो परिवारभन्दा बाहिर रहेका भनेका वसन्तविक्रम शाही हुन् । राप्रपाका नेताहरुको भनाइमा दुई छोरामध्ये एकजनाले टिकट पाउनेछन् ।

 

त्यसमा पनि पाइलटवाला छोरालाई उम्मेददवार बनाउने संभावना रहेको बताइन्छ । तर, यो निर्णय भने अध्यक्ष लिङ्देनले नै लिनेछन् । त्यसैले, राप्रपामा वरिष्ठ उपाध्यक्ष, महामन्त्रीद्वयसहित पदाधिकारीहरु अध्यक्ष लिङ्देनको विपक्षमा उभिदा पनि एकल निर्णयको प्रयासमा रहेका छन् । (साँघु साप्ताहिक, २०८२ भदौ १६) 
 

प्रतिकृया दिनुहोस