काठमाडौं । ०८० असार महिना देखि काठमाडौंमा ल्याइएको मेलम्चीको पानी हाल बन्द अवस्थामा रहेको छ । वर्षातको समयमा बाढी आउने र हेडवकर््स बिगार्ने डरले पानी ल्याउन बन्द गरिएको हो । बाढीका कारण सुरूङ भित्र लेदोसहितको धमिलो पानी पसेर क्षति पुग्नसक्ने आशंकाका कारण असारदेखि असोजसम्म हेडवकर््स बन्द गर्ने निर्णय मेलम्ची खानेपानी विकास समितिले गरेको थियो । यही महिना भित्रै हेडवकर््स सफा गरेर पानी काठमाडौं ल्याउने तयारी भइरहेको खानेपानी मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
साउन अन्तिम साता मेलम्ची नदीमा आएको ठुलो बाढीका कारण मुख्य बाँध हेडवर्क्स पुरिएको छ । बर्षातका कारण विभिन्न ठाउँमा बाटो बिग्रिएको र हेडवर्क्स पुरिएकोले अस्थायी रूपमै पनि समयमै पानी ल्याउन कठिन भइरहेको समाचार स्रोतले बताएको छ । एकातिर बाढीले हेडवर्क्स पुरिएको छ भने अर्काेतिर १ नम्बर गेट मर्मत गर्नुपर्ने अवस्था छ । त्यस्तै ९ नम्बर गेटमा पनि सफाइ गर्नुपर्ने भएको छ । बर्षात सुरु भएसँगै गत असार पहिलो सातादेखि पानी काठमाडौं ल्याउन बन्द गरिएको थियो ।
यसअघि ०७८ असार १ र १५ साउनमा पनि मेलम्ची नदीमा आएको बाढीका कारण हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर सडक पूर्णरूपमा क्षति भएको छ । यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति पुगेको र आयोजनासम्म पुग्ने ६ वटा अस्थायी प्रकृतिक पुल पनि बाढीले बगाएको बताइन्छ । मेलम्ची खोलामा आएको बाढीका कारण चनौटेस्थित रातो पुलदेखि किउलसम्म सात किलोमिटर सडक क्षतिग्रस्त भएको बताइन्छ । ग्याल्थुम र डुम्रे बजारको सडक खोलामा परिणत भएको स्थानीय बासिन्दाले बताएका छन ।
स्थानीयले प्रयोग गर्ने बाटो भएकोले चनौटे पुलदेखि ग्याल्थुमसम्मको अस्थायी बाटो भर्खरै मात्र निर्माण गरिएको छ । अहिलेसम्म आयोजनामा के–के क्षति भयो यकिन हुन सकेको छैन । त्यसैले कति क्षति भयो कति लागत लाग्छ ? अस्थायी रूपमै भए पनि कहिले सम्पन्न भएर पानी आउँछ भन्ने कुरामा मन्त्रालयसमेत अन्यौलमा रहेको बताइएको छ । काठमाडौं उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग भैरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वर्षायाम भएकोले करिव १६ करोड लिटर पानी वितरण गर्दै आएको समाचार छ । सुख्खा मौसममा भने केयूकेएलले १३ करोड लिटर पानी उपभोक्तालाई वितरण गर्दै आएको बताइन्छ । त्यसमा पनि ४० प्रतिशत पानी चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घर–घरसम्म पुग्ने गरेको जानकारहरुको भनाई छ । मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा जोडिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खानेपानी मन्त्री महेन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने बताउँदै आएका छन । उनीहरुले गत असारको शुरुवातीमा मेलम्ची खानेपानी आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रको अवलोकन र निरीक्षण गरेका थिए । प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा गृहकार्य गरेका थिए । त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने आश्वासन दिएका पनि दिएका थिए । प्रधानमन्त्री प्रचण्ड र मन्त्री रायले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा हेलम्वु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग जानकारीसमेत लिएका थिए ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा हेलम्बु–१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले हेलम्बु–१ मा करिब नौ किलोमिटर सडक तत्काल कालोपत्र गर्नुपर्ने र यस क्षेत्रका स्थानीय सप्लायर्स र ठेकेदारहरूले २६ करोड रकम ठेकेदारबाट भुक्तानी नपाएको लगायतका समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखेका थिए । तर इटालियन कम्पनी सीएमसी बिरद्द अदालतमा मुद्दा दायर भएको छ । जसले गर्दा मुद्दा छिनाफानो नभएसम्म उसले राखेको धरौटी रकमलाई दायाँबायाँ गर्न सक्ने अवस्थामा सरकार छैन । यही कारण सरकारले चाहेर पनि स्थानीयको समस्या हल हुन सकिरहेको छैन । पीडितहरु दिनहुँ समस्या समाधान गर्न अनुरोध गर्दै प्रधानमन्त्री कार्यालय र खानेपानी मन्त्रालयमा धाइरहेका छन । पीडितहरुले बैंकले आफनो घरखेत लिलाम गरिरहेको गुनासो पोख्दै आएका छन । सरकारले भने स्थानीयको रकम भुक्तानीको जिम्मेवारी ठेकेदार कम्पनीको भन्दै आनकानी गरिरहेको छ पीडितहरुले गुनासो गरेका छन ।
२०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा ठुलै क्षति पुगेको थियो । वर्षात रोकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो । काठमाडौँ उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीनरुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्य स्थिति तथा जीवनस्तर सुधारमा योगदान पु¥याउने उद्देश्यले झण्डै तीन दशक अगाडि मेलम्ची खानेपानी आयोजना निर्माणको परिकल्पना गरिएको थियो । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरी पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ ।
तर हाल काठमाडौं आइपुगेको १७ करोड लिटर पानीले मात्र उपत्यकाबासीको माग पूरा हुने अवस्था छैन । छिट्टै यांग्री र ल्यारके खोलाबाट थप १७–१७ करोड लिटर पानी ल्याउने गरी तयारी अगाडि बढाइएको छ । त्यसको लागि अलग–अलग सुरुङमार्ग निर्माण गररे मूल सुरुङमा मिसाउने योजना सरकारको रहेको छ । यसका लागि छिट्टै कार्ययोजना अगाडि बढाउने तयारीमा मन्त्रालय अगाडि बढिरहेको स्रोतले बताएको छ । २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । तर २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति पुगपछि पानी वितरण कार्य हिउँदमा मात्र भइरहेको छ । असार, साउन र भदौ वर्षातको सिजनमा भने पानी वितरण हुन सकिरहेको छैन । (साँघु साप्ताहिक, २०८० असोज १)
प्रतिकृया दिनुहोस