• शुक्रबार-बैशाख-२६-२०८२

अख्तियारले हेर्नै नमिल्ने भ्रष्टाचार ? : पाँच करोडको त्रिविसँगको प्रोजेक्ट के भयो ?

 

काठमाडौं । नेपाल पर्यटन बोर्डभित्र आर्थिक अनियमितता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका तत्कालीन निमित्त सीईओ सुवास निरौलाभन्दा बढ्ता हुन थालेको खबर छ । त्यो बेलाको भन्दा कमजोर बोर्ड सदस्य भएपछि सीईओ पनि कमजोर र अदक्ष आउन थालेका छन् । क्षमता र दक्षताको हिसाबले कमजोर सीइओ भ्रष्टाचारको मनोविज्ञानसहित आएपछि बोर्ड इतिहासकै भ्रष्ट भएको गुनासो कर्मचारीहरुको छ ।   

 


  बोर्डमा अराजकताको पराकाष्ठा भइरहेको गुनासो सुनिन्छ । आफू अनियमित कार्यमा चुर्लुम्म डुबेका कारण अनियमित कार्य गर्ने कर्मचारीलाई पनि जोगाउन थालेका छन् । पोखरामा बसेर आर्थिक अनियमितता मच्चाएका र व्यवसायीको मिलेमतोमा कोठा समेत नलिई होटलमा बस्ने र खाने गरेका निर्देशक मणिराज लामिछाने र उनको सिको गर्ने सूर्य थपलियालाई जोगाउन अहिले सीईओ रेग्मी हात धोएर लागेको खबर छ ।

 


  पेश्कीको नाममा उनीहरुले पोखरा कार्यालयबाट लाखौ रुपैयाँ अनियमित कार्य गरेको आरोप लागेको छ । त्यसरी लिएको पेश्की अहिलेसम्म फछ्र्यौट गरेका छैनन् । त्यसमाथि महालेखा परीक्षकले पनि प्रश्न उठाएको छ । तर, सीईओ रेग्मी अहिले तिनै लामिछाने र थपलियालाई जोगाउन उनीहरुको दोष नभएको भन्दै न्यायाधीशको भूमिका देखिएको स्रोत  बताउछ । काठमाडौंको कार्यालयमा आर्थिक अनियमितता गर्न सिकाउने र काँध थापेर हिड्ने काममा तिनै लामिछाने र थपलिया भएका कारणले अहिले रेग्मीले उनीहरुको पुरानो अनियमितता ढाकछोप गर्न लागेको आरोप छ । 

 


बोर्डका गण्डकी प्रदेश प्रमुख भएका बेला निर्देशक लामिछानेले ४२ लाख र प्रबन्धक थपलियाले २९ लाख २८ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ । केन्द्रीय कार्यालयको लेखा परीक्षण तथा महालेखा परीक्षणको प्रतिवेदनअनुसार पोखरामा कार्यालय प्रमुख हुँदा उनीहरूले कानूनविपरीत बोर्डको रकम आफ्नै नाममा चेक काटेर हिनामिना गरेको देखिएको हो ।

 

सरकारी पैसा व्यक्तिले निकालेर चलाएको मात्र होइन, उनीहरूले योजनाका बजेट दुरूपयोग गरेको भनेर समेत प्रश्न उठ्दा सरकारले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने माग पोखरामा उठिरहेको छ । लामिछाने त सुवास निरौलाको दाहिने हात भएर काम गरेका थिए र त्यतिबेला पनि विवादमा तानिएका हुन् । त्यसपछि सीईओ भएका दीपक जोशीले  बोर्डको विज्ञापन अनुसार पोखरा कार्यालका लागि निर्देशक नियुक्त गरेका थिए । विज्ञापन नै पोखराका लागि भएको थियो । 

 


 त्यही पदका लागि नाम निकालेका लामिछाने बोर्डको कानून अनुसार काठमाडौं सरुवा हुन पाउँदैनन् । तर, लामिछाने विगत तीन वर्षदेखि काठमाडौंको मालदार महाशाखामा बसिरहेका छन् । अनि, रेग्मीको विश्वास पात्रको रुपमा काम गर्ने गरेका लामिछानेलाई युएनडीपीको प्रोजेक्टमा पनि अस्वभाविक भत्ता खाने व्यवस्था मिलाई दिएको स्रोत बताउछ । 

 


बोर्डमा लामिछानेले बुझ्ने गरेको भत्ताको पनि छानबिन माग उठेको छ । सँधै सत्ताको पक्षमा लाग्ने लामिछाने अहिले रेग्मीको पछि लागेर शुभलाभ प्राप्त गरिरहेका छन् । अनुसन्धानको नाममा बजेट विनियोजन गर्ने र त्यो कामको जिम्मा लामिछानेले पाउने गरेका छन् । अनि, रेग्मी र लामिछाने मिलेर चाँदी कटाइमा लागेको स्रोत बताउछ । कार्यकालको अन्तिम चरणमा भएका कारण रेग्मी पनि जसरी पनि शुभलाभ हात पार्ने  ध्याउन्नमा लागेको स्रोत बताउछ । त्रिविसँग जीएसआई प्रविधिमा गन्तव्यहरु पहिचान गर्ने नाममा ५ करोडको प्रोजेक्ट खास काम नै नगरी सकाएको आरोप छ । रेग्मीमाथि सचिवालय मर्मतसंभारका नाममा बोर्डमा प्रवेश गरेदेखि नै आथिंक अनियमितता गरेको आरोप लागेको थियो । पर्वतीय कन्फ्रेन्सका नाममा पनि उनले आर्थिक अनियमितता गरेका आरोप छ । 

 


जापानमा आफ्ना साथीहरु जोडेर यो पर्वतीय कन्फ्रेन्स गरेर रेग्मीले आर्थिक लाभ लिइरहेका छन् । यो पटक पनि उक्त कन्फ्रेन्स गर्न थालेका थिए, तर विवादमा मुछिएको छ । त्यसबाहेक बजेटमा आफ्नो अनुकूलको बजेट बनाएका भन्दै पर्यटन मन्त्री समेत विरोधमा थिए । तर, २०८० असोज ६ गते शनिवार दिउँसो बोर्डको बजेट पारित भएको छ । बेलायतमा हुने पर्यटन मेलामा जान पैसा नभएको भन्दै बार्गेनिङ गरेपछि बजेट पास भएको हो ।

 

आउँदो माघमा कार्यकाल सकिन लागेका रेग्मी ५ महिनाभित्र जे जे गरेर भएपनि  कमाउने योजनामा रहेको स्रोत बताउछ । पर्यटन बोर्डभित्र आर्थिक अनियमितता जे जति भए पनि पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नहेर्ने कसम खाए जस्तै अवस्था रहेको व्यंग्य समेत हुने गरेको पाइएको छ ।  (साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस