काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका अञ्जन श्रेष्ठ सञ्चालक रहेको निदान अस्पतालको विजोग हुन थालेको छ । पुल्चोकमा रहेको निदान अस्पतालका सेयर धनीहरु नै पीडित भएका थिए । संस्थापक सेयरधनीमात्र होइन, त्यसपछि थप सेयर हाल्नेहरु पनि पीडित भएको गुनासो छ । संस्थापक सेयरधनीको करिब १० करोड रुपैयाँ र नयाँ सेयरधनीको करिब १२ करोड रुपैयाँ ठगीमा परेको गुनासो गर्छन् । पुराना सेयर सदस्यलाई हिसाबकिताब नदिने र नयाँ सेयर सदस्यलाई भने सेयर प्रमाणपत्र नै नदिएको रहस्य खुलेको छ ।
अहिले अस्पताल आर्थिक रुपमा टाट पल्टिन थालेको छ । चिकित्सक तथा कर्मचारीहरुलाई तलब नदिएको पनि झन्डै ८ महिना भइसकेको स्रोत बताउछ । अस्पतालका नाममा उठाएको करोडौं रुपैयाँको हिसाबकिताब नदेखाई प्रकरणमा श्रेष्ठसहित पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेक श्रेष्ठ पनि जोडिएको खबर छ । अभिषेकले सीईओको हैसियतमा अस्पतालमा काम गरेका थिए । अभिषेकले आफ्नी श्रीमतीलाई पनि अस्पतालमा कन्सल्टेन्टको रुपमा जागिर लगाएर अस्पतालको सम्पूर्ण आम्दानी कब्जा गरेको आरोप छ ।
पुराना सेयर सदस्यहरु करिब ७० जना रहेका छन् । उनीहरुलाई ०७४ सालदेखि नै हिसाबकिताब नदेखाएको गुनासो गरेका छन् । साथै, अस्पताल विस्तार गरी एक सय बेडको बनाउने भन्दै नयाँ सेयर सदस्यहरु थपेका थिए । करिब ५० जनाले विभिन्न चरणमा करोडौं रुपैयाँ बुुझाएका थिए । नयाँले शेयर प्रमाणपत्र नै नपाउने तर सेयर रकम बुुझाउनेमा श्रेष्ठका आफन्तहरु नै धेरै रहेको स्रोत बताउछ । सोहीकारण धेरैले मुख खोलेका पनि छैनन् । कांग्रेस सांसद तेजुलाल चौधरीले पनि करिब ३ करोड रुपैयाँ डुबाएको चर्चा छ । उनले नाइटेङिगेल नर्सिङ कलेजका लागि निदान अस्पतालमा ३ करोड सेयर हालेका थिए । त्यसको हिसाबकिताब नै देखाएका छैनन् र प्रमाणपत्र दिन पनि नचाहेको स्रोत बताउछ ।
अस्पताल डुबेर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब दिन नसकेपछि श्रेष्ठद्वयले सेयर प्रमाण पत्र दिन खोजिरहेका छन् । तर, कर्मचारीहरु भने डुबेको अस्पतालको अब सेयर नलिने बताइरहेका छन् । कर्मचारीहरुले त तलब नपाएको भन्दै श्रम कार्यालयमा उजुरी पनि दिएका छन् । एकजना चिकित्सकले करिब ५० लाखसम्म पाउनुपर्ने हिसाब देखिएको अस्पताल स्रोतको भनाइ छ ।
तलब दिनेदेखि सेयर सदस्यलाई हिसाबकिताब देखाउनका लागि श्रेष्ठद्वय सम्पर्कमै आउन छाडेको गुनासो छ । वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पनि यो विषयमा बोल्न सम्पर्कमै नआउने गरेको पीडित सेयरसदस्यहरुको भनाइ छ । उनीहरुले पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई देखाएर सेयरसदस्यलाई तर्साउने गरेको गुनासो छ । कानूनी अड्चनहरु पनि उनकै आवरणमा मिलाउने गरेको आरोप पनि सेयर सदस्यहरुले लगाएका छन् । (साँघु साप्ताहिक, २०८० असोज ८)
प्रतिकृया दिनुहोस