• शुक्रबार-भदौ-२८-२०८१

एनटीभीको अवैध भर्ती समाप्त ! : मन्त्री गुरुङ शर्माभन्दा कति फरक ?

 

काठमाडौं । नेपाल टेलिभिजनले करिब सवा सय जना करार कर्मचारीको करारको जागिर समाप्त पारेको छ । तीमध्ये ३ दर्जन जति अध्यक्ष समिर शाह र जीएम फूलमान बल तामाङले साढे २ वर्षको अवधिमा भर्ती गरेका थिए । २०७२ को संविधान आएपछि लोक सेवा आयोगको सिद्धान्त लागू भै कुनै पनि प्रकारको करारमा बिना प्रतिस्पर्धा भर्ती गर्न नपाइने भएपनि ती दुई जनाले आफ्नो कोटरीका मान्छेलाई आवश्यकै नपरीकन पनि भर्ती गरेका थिए । उनीहरूले भर्ती गरेकामध्ये कोहीले सातौं तहको स्थायी कर्मचारीलाई बक्सिङ हानेर एनटीभी प्लसमा पु¥याएपछि टेन्सन भएर होटलमा गएर सुतियो भन्ने गरेका थिए भने कोहीले बिहानै गयो हाजिर ग¥यो, फेरि हाजिर गर्न बेलुका मात्रै एनटीभी नै जानु पर्ने भनेर हाजिर मात्रै गरेर अधिकृतस्तरको तलब बुझ्दै आएका थिए । 


नेतृत्वमा ती दुई जना आएपछि आम्दानी नबढाउने तर अनियमति कार्य, बेथिति र भर्तीमा मात्रै ध्यान दिने गरेपछि कर्मचारी प्रशासनले अडान लिएर २०८१ साउन २ गतेदेखि उनीहरूको हाजिर ब्लक गरिदिएको छ । तैपनि महाप्रबन्धक बलले उनीहरूको म्याद थप्न बल लगाउन छोडेका छैनन् । यसरी गैरकानूनी भर्ती कायम राख्नेमा ऋषि धमलाको प्राइम टीभीका महाप्रबन्धककी श्रीमती पनि रहेकी थिइन् । उनी लगायत केही महिलाको जागिरको निरन्तरताको लागि जीएमले निकै बल लगाइरहेका हुन् । विवादास्पद खरिद, फाइल लुकाउने र गैरकानूनी भर्तीमा महाप्रबन्धक बलको र अध्यक्ष शाहको मिलेमतो आश्चर्यजनक रहेको पत्रकार र कर्मचारीहरु बताउँछन् । अचेल त आफूभन्दा पनि जीएम बल चर्को बनेर उत्रिएकोमा शाह नै चकित पर्ने गरेको खबर छ । केपी बा’ निकट भनेर महाप्रबन्धक बनाइएका उनी शेरबहादुर देउवाका शाहसंग ल्याप्पै मिलेको थाहा पाएपछि यसअघिकी संचार मन्त्री रेखा शाहले टेलिभिजनमा केही गर्न सकिन्न भनेर लाचारी व्यक्त गर्दै डेढ वर्षे कार्यकाल सकेकी थिइन् । 


त्यसो त प्रशासनले मात्र हाजिरी बन्द गरेको होइन । गैरकानूनी हर्कत बन्द गर्न अख्तियार, सतर्कता केन्द्र र हेलो सरकारबाट चेतावनी दिइएको थियो । त्यसमा संचालक समितिमा मन्त्रालयका प्रतिनिधिले महाशाखा प्रमुखहरूसँग एक्लाएक्लै भेटी वास्तवमै करारका कर्मचारी आवश्यक हो वा होइन भनी बुझेका थिए । तर उनीहरूले भैरहेका मान्छेबाट सजिलै काम चल्ने जवाफ दिएका थिए । तर महाप्रबन्धक बल र अध्यक्ष शाहले ‘‘करारका कर्मचारी नभए प्रसारण बन्द हुन्छ भनेर झुठो कुरा, लेखेर पनि देऊ’’ भनेर तारन्तार दवाव दिएका थिए । 

 


त्यसरी सोद्धा इन्जिनीयरिङका सुरज थापाले गोलमटोल गरी महाप्रबन्धक र अध्यक्षलाई सजिलो हुने गरी बोलेको, अप्रेशनका मुकेश श्रेष्ठले ‘‘करारको मान्छे चाहिंदैन आवश्यकै छैन भनिसकेपछि कति दवाव दिनुहुन्छ ? के हो यो चाला ?’’ भनेर बोर्डमै प्रश्न गरेका थिए । समाचारका पुष्पहरि क्याम्पा राई भने ढुंगो बोल्ला मान्छे बोल्दैन जस्तो गरेर बसेको एक प्रत्यक्षदर्शी पत्रकारले बताए । मन्त्रालयका प्रतिनिधिले एनटीभीमा महाशाखा प्रमुखहरू खराब भएकोले संस्था धराशायी हँुदै गएको रिपोर्टिङ गरेको स्रोत बताउछ । 

 


आर्थिक प्रशासन महाशाखा प्रमुख पवन माण्डव्यले भने राति फोन गर्दै प्रशासन महाशाखा प्रमुख पुरुषोत्तम महर्जनलाई ‘‘दाइ, करारहरूको हाजिर नै बन्द गरेर तपाईंले गल्ती गर्नुभयो, तपाईंको करियरमै असर पर्न सक्छ’’ भनेर धम्क्याएको कुराले टेलिभिजनको उच्च तह तरङ्गित भएको छ । महर्जन संचालक समितिको सचिव पनि हुन् । उनले समितिको बैठकमै अनावश्यक र गैरकानूनी भर्ती गरेर टेलिभिजन डुबाउँदै लगिएकोमा तीव्र विरोध जनाउँदै आएको स्रोत बताउछ । अब उनलाई हटाएर माण्डव्यलाई समितिको सचिव बनाउने खेल भैरहेको छ । करारका कर्मचारी कांग्रेसी ट्रेड युनियनका नेताको दुहुनो गाई हुन् । 

 

तिनै सवा सय करारको भरमा कर्मचारी युनियनको नेता संचालक समितिको सदस्य बन्ने र खरिद, ठेक्कापट्टा, कर्मचारी सरुवा गरी दादागिरी देखाएर आफूहरूले कामै नगरी तलब भत्ता खाने गरेको आरोप २० वर्षदेखि लाग्दै आएको छ । उनीहरूकै दवावमा ती सवा सय कर्मचारीलाई करार सम्झौता र निर्णयबिना नै २०८० चैतदेखि २०८१ असार मसान्तसम्म तलबभता खुवाइएको छ । तर, अख्तियारका मान्छेहरू भने उनीहरूबिना प्रसारण रोकिन्छ भन्ने बिचौलियाहरूको धम्कीका कारण करोडौंका भ्रष्टाचारमा त आँखा चिम्लेर बसेका छन् भने बिना सम्झौता करार कर्मचारीलाई तलब खवाएकोमा के कार्बाही गर्थे ?  

 


तर पछिल्लो समाचार अनुसार अख्तियारका ३ कर्मचारीले टेलिभिजनका दुई संदिग्ध भ्रष्टाचारमा मुचुल्का गरेर गएका छन् । दर्जन वटा कम्प्युटरमा आई सेभेनको पैसामा आई थ्री मात्रै हालेको र समाचार कक्ष पार्टेसन गर्दा घोटाला गरेको विषयमा स्थलगत नापजाँच गरेर अख्तियारको टिम गएको स्रोत बताउछ । टिमले अटोमेशन खरिद भ्रष्टाचार भएको भन्ने उजुरीमा पनि मुचुल्का गरेको छ । तर त्यसमा उजुरीकर्ताहरूलाई नबुझी गोलमाल गर्नेलाई मात्रै बुझेर मुचुल्कामा भने सबैलाई सही धस्काउन लगाएको बुझिएको छ । अटोमेशनमा चार वटा प्ले आउट भनेर दुई वटा मात्रै ल्याएर भ्रष्टाचार गरेको लगायत उजुरी परेको स्रोतको भनाई छ । 

 


यसअघि पनि पटकपटक मेसिन हेरेर फर्किने तर अनुसन्धान अधिकृत अन्य मालदार ठाउँमा सरुवा भएर जाने गर्दा एनटीभीको अनुसन्धान अलपत्र पर्दै आएको हो । अख्तियारलाई प्रसारण रोकिने डर देखाएर यसरी नै घोटाला गर्न पल्केको समूहले अवैध बाटोबाट सवा सय कर्मचारी भर्ती गरी सर्वसाधारणले प्रतिस्पर्धा गर्न नपाउने गरी बाटो बन्द गर्दै आएका छन् । समिर शाह र फूलमान बल त कर्मचारी संघका मान्छेहरूको पछि लागेर लोक सेवा आयोग र अदालत जाँदै लोक सेवा आयोगको परीक्षा रोकाउने गरेका छन् । 

 


२०७६ सालको विज्ञापनमा फर्म भरेकाहरूको जाँच हुन दिएको छैन भने त्यसपछि टेलिभिजनमा विज्ञापन खुल्नै नदिने र आफ्ना भित्रियाहरू भर्ती गर्ने गलत काम यी दुई जनाको नेतृत्व र कर्मचारी नेता भनाउँदाले गरेर अन्याय गरेको पीडितहरूले गुनासो गर्ने गरेका छन् । करारका कर्मचारीलाई वर्षको ५ करोड खर्च गर्नु पर्दा उपदान कोषमा जम्मा गर्नुपर्ने रु. १४ करोडको दायित्वबाट बिमुख भएको महालेखा परीक्षक प्रतिवेदनमा छ । नयाँ संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले रेखा शर्मा जस्तै लाचारीपूर्वक कार्यकाल मात्रै कटाएर टेलिभिजनलाई पनि दुग्ध विकास संस्थान बन्न दिन्छन् कि डिलबाट फर्काउँछन् भन्ने केही समयमै थाहा हुने टेलिभिजनको उच्च कर्मचारीहरू बताउँछन् । (साँघु साप्ताहिक, २०८१ साउन २१)
 

प्रतिकृया दिनुहोस