• शुक्रबार-असार-२०-२०८२

ज्ञानेन्द्र शाहको नव वर्षको सन्देश : ‘शिखरतर्फको यात्रा’ ! :  राजनीतिक आँधीबेरीको संघारमा पूर्वराजा ?

 

काठमाडौं । पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव २०८१ फागुन २५ गते पोखराबाट राजधानी फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म देखिएको राजतन्त्र समर्थकको उत्साहपूर्ण भिडले मुलुकको राजनैतिक तापक्रम एकाएक चुलिएको छ । २०८१ फागुन २५ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवाससम्मको यात्रा– यो मार्ग केवल भौगोलिक मात्र थिएन, यो भावनात्मक, राजनीतिक र प्रतीकात्मक यात्रा बन्यो । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह राजधानी फर्किएसँगै राजधानीको सडकमा पहिलोपल्ट जनसागर उर्लिएको थियो । 


राजधानीका प्रमुख सडक ठप्प थिए,  पूर्वराजाको स्वागतगर्दै उभिएका अनुहारहरूमा उत्साह, आँखामा आशा र नारा–जुलुसमा राजसंस्थाप्रतिको भावनात्मक आस्था देखिन्थ्यो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल तथा डा. दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको भव्य स्वागतले राजधानीको सडकलाई फेरि एकपटक राजनैतिक चेतनाको थलो बनाइदिएको थियो । “राजा आऊ, देश बचाऊ” भन्दै जनसमूह उत्साहित बनेको थियो । तर, यो दृश्य केवल स्वागतको थिएन, यो सन्देश थियो–शक्ति प्रदर्शनको, प्रणाली परिवर्तनको अपेक्षाको, र सम्भावित राजनैतिक ध्रुवीकरणको ।


अब के गर्छन् पूर्वराजा ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, र दुर्गा प्रसाईं समूहका कार्यकर्ताहरूले गरेको भव्य स्वागतले काठमाडौंका मुख्य सडकहरू राजतन्त्रवादी नाराले गुन्जिएको दृश्य अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ ।


पूर्वराजाको आगमन स्वागत जुलुसजस्तै भव्य बनाइयो, जहाँ राजतन्त्र पक्षधरहरू “राजा आऊ, देश बचाऊ“, “हाम्रो राजा, हाम्रो देश“, “एक राजा–एक देश“जस्ता नारासहित सडकमा उत्रिएका थिए ।


२०८१ चैत १५ गते, त्यस दिनको भिड, जनसहभागिता, र राजावादी भावनाको ज्वारभाटा र सरकारी पक्षको दमन र धनजनको क्षतिको कोणबाट हेर्दा धेरैको मनमा एउटा प्रश्न चर्किएर आएको छ—
 

“पूर्वराजा अब कुन बाटो लिँदैछन् ?”

नव वर्ष २०८२ को अवसरमा उहाँद्वारा जारी गरिने शुभकामना सन्देशले यही प्रश्नको संकेत दिने आंकलन गरिँदैछ ।


पूर्वराजा संयमित होलान् कि आन्दोलित ?
राजनीतिक विश्लेषकहरू, कूटनीतिज्ञ, बौद्धिक वर्ग सबैको चासो यही छ– नव वर्ष २०८२ मा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश कस्तो आउला ? संयमित सन्देश दिएर प्रतीक्षाको नीति लिने हो कि आन्दोलनलाई अझ चर्काउने शैलीमा राजतन्त्रवादी भावनालाई थप उचाइमा पु¥याउने ?


निर्मल निवास स्रोतहरू भन्छन्–
पूर्वराजामा चैत १५ गते सरकारको दमनप्रति गहिरो असन्तुष्टि छ । विशेषगरी चैत १५ गते तीनकुनेमा आयोजित राजतन्त्र पक्षधरहरूको जनसभामा सुरक्षा निकायबाट भएको अन्तिम  बल प्रयोग र जनधनको क्षतिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झस्काएको छैन, बरु आत्मबल अझ बढाएको स्रोतको दावी छ ।


तीनकुने घटनाले बढायो 
 पूर्वराजाको आत्मबल

२०८१ चैत १५ गतेको तीनकुने जनसभा राजतन्त्रवादी आन्दोलनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । प्रहरीको हस्तक्षेप, अश्रुग्यास प्रहार, गोली चल्दा एक जनाको मृत्यु, पत्रकार घरभित्रै लागेको आगोमा जलेर भएको दुःखद निधन, दर्जनौं घाइते, आन्दोलनका अगुवा ‘लठ्ठी बाबा’ नवराज सुवेदीलाई घरमै नजरबन्द, सांसद धवल शमशेर राणा र अभियान समितिका सचिव रविन्द्र मिश्र पक्राउ–यी सबै घटनाले निर्मल निवासको मौनता तोड्ने वातावरण बनाइदिएको स्रोतको दावी रहेको छ ।


यही घटनाक्रमलाई लिएर विश्लेषकहरू भन्छन्– पूर्वराजा ज्ञानेन्द्र शाह अब शान्त भूमिकाबाट प्रत्यक्ष सन्देशदाताको भूमिकामा आउन सक्छन् ।\


पूर्वराजाबाट अबको संकेत :
‘शिखरतर्फको यात्रा’ ?

नव वर्ष २०८२ को सन्देशप्रति राजतन्त्रवादीहरू मात्रै होइन, सत्ताधारी दल, प्रतिपक्ष, राजनयिक समुदाय, र स्वतन्त्र बौद्धिक वर्ग पनि चासोका साथ पर्खिरहेको देखिन्छ । स्रोतहरूका अनुसार, पूर्व ज्ञानेन्द्र शाहद्वारा जारी हुने सन्देश भावनात्मक, प्रेरणादायी, र राजनीतिक रूपमा प्रभाव पार्ने किसिमको आउने सम्भावना प्रबल छ । २०८१ चेत ३१ गते जारी गरिने पूर्व राजा ज्ञानेन्द्र शाहको शुभ कमना सन्देश राजतन्त्र पुनःस्थापनाको आन्दोलनलाई नयाँ ऊर्जा दिनेगरी तयार पारिँदैछ ।


विश्लेषकहरुको अनुमान छ– पूर्वराजा अब राजतन्त्र पुनस्र्थापनाको स्पष्ट मार्गचित्र, वा त्यसको संकेत गर्न सक्ने शब्द प्रयोग गर्न सक्छन् । संविधानप्रति असन्तोष, राजनीतिक नेतृत्वप्रति प्रश्न, र जनताको आवाज सुनिनु पर्ने आग्रह सन्देशमा प्रकट हुनसक्छ ।


‘राजनीति’ मात्र होइन, ‘प्रभाव’ पनि !
राजनीतिक रूपमा पूर्वराजा ज्ञानेन्द्र शाह निरपेक्षजस्तो देखिए पनि प्रभावहीन भने छैनन् । राज्य संयन्त्रबाट हटाइएका भए पनि जनताको भावना, आन्दोलनको स्वरूप, र राजनीतिक अस्थिरता उनीतर्फ फर्किने वातावरण फेरि बन्न थालेको त होइन ? विश्लेषकहरु प्रश्न गर्दैछन् । 


राजतन्त्र पक्षधरहरूको ‘साँस्कृतिक राष्ट्रवाद’, हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाको माग अहिले सडक, सोशल मिडिया र जनसभामा प्रतिध्वनित भइरहेका छन् । पूर्व  राजा ज्ञानेन्द्र शाह तटस्थ र संयमित रहे पनि अबको हरेक शब्द, हरेक सन्देश राजनीतिक अर्थ बोकेको हुनेछ ।


टिप्पणी : सन्देशमा संकेत, संकेतमा रणनीति
पूर्वराजाको सन्देशले ‘जनताको मनोभावना बुझियो, म त यहाँ छु, तपाईंहरूकै लागि’ भन्ने गहिरो सन्देश दिन सक्छ । शायद उनी प्रत्यक्ष सत्ता होइन, सार्वजनिक समर्थनको रणनीतिमा लागेका छन्–जहाँ जनताले मागेपछि मात्र उनी अगाडि बढ्ने ‘संविधान बाहिरको संवैधानिक खेल’ सुरु हुनसक्छ ।


नव वर्षको शुभकामनाभित्र एउटा संकेत लुकेको हुनेछ– राजनीतिक प्रणालीप्रति असन्तोष र वैकल्पिक मार्गप्रति आग्रह । यो सन्देशले सत्ता पक्षलाई झस्काउने, विपक्षलाई गहिरो सोच्न बाध्य बनाउने र राजतन्त्रवादी आन्दोलनलाई संगठित ऊर्जा दिनेछ । (साँघु साप्ताहिक, २०८१ चैत २५)
 

प्रतिकृया दिनुहोस