काठमाडौँ । २०८२ बैशाख ८ गतेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १४ सहित ४७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले २७ जनाको सरूवा र २० जनाको कामकाज सरूवा गरेको जनाएको छ । सरकारले २० जना सहसचिवहरूलाई अझै दरबन्दीमा सरूवा गर्न सकेको छैन । कामकाज सरुवा गरेर प्रशासन क्षेत्रमा अस्थिरता सिर्जना गरेको गुनासो बाहिर आएको छ ।
झण्डै चार दर्जन सहसचिवको सरूवा हुँदा गृह मन्त्रालयबाट दुई जना सहसचिव बाहिरिएका छन् । एकजना सहसचिव भने भित्रिएका छन् । अर्थ मन्त्रालयमातहत निकायमा कार्यरत सहचिव पार्वती अर्याललाई परराष्ट्र मन्त्रालय खटाइएको छ । उनलाई चीनको राजधानी बेइजिङको इकोनोमिक काउन्सिलरमा खटाउनका लागि परराष्ट्रमा सरूवा गरिएको स्रोतले जानकारी दिएको छ । यो सरूवामा लोकसेवा आयोगमा ३ र राष्ट्रिय योजना आयोगमा दुईजना नयाँ सहसचिवलाई खटाइएको छ । लोकसेवा आयोगबाट सहसचिव नरेन्द्र कुमार रानालाई भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा खेदिएको छ । बागमती प्रदेशबाट सरुवा गरेर सहसचिव रूद्र प्रसाद लामिछानेलाई पनि सामान्यको अतिरिक्त समूहमा थन्क्याइएको बताइन्छ ।
कोशी प्रदेशमा कार्यरत पुष्कर न्यौपाने संघीय कृषि तथा पशुपन्छी मन्त्रालयमा भित्रिएका छन् । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हेमराज भूषाललाई बागमती प्रदेश मन्त्रालयमा कामकाज सरूवा गरिएको छ । शिक्षा सेवा समूहका सहसचिव रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ । उनलाई पनि कामकाज सरूवा गरिएको बताइन्छ । यो सरूवामा माओवादी केन्द्र निकट रहेका केही सहसचिवहरुलाई भने राहत मिल्ने गरी सरुवा गरिएको चर्चा छ ।
क–कसलाई राहत ?
साठी किलो सुन तस्करीको विवादमा परेका सहसचिव झलकराम अधिकारीलाई सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा सरुवा गरिएको छ । सहसचिव नवराज ढुंगानालाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयबाट राष्ट्रिय योजना आयोगमा सरूवा गरेर राहत प्रदान गरिएको बताइएको छ । यसअघि ढुंगानालाई सरूवा गर्न खोज्दा मुख्यसचिव एकनारायण अर्यालले कुरै पर्न नदिएको स्रोत बताउँछ । तर, अहिले उनी केही नरम हुँदा सहसचिव ढुंगाना सिंहदरबार प्रवेश हुन सफल भएका छन् ।
२०८० साउन २ गते ६० किलो सुन पक्राउ गर्दा उनी राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका थिए । ढुंगाना नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा यसअघि उनको निजी सचिवको जिम्मेवारीमा रहेरसमेत काम गरेका थिए । सरुवा सूची अनुसार, सहसचिव रुद्र बहादुर कार्की लोक सेवा आयोगमा भित्रिएका छन् । यज्ञ पुरीको सरुवा सुदूरपश्चिम प्रदेशमा भएको छ ।
सहसचिव रोशन ज्ञवाली भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा हुन सफल भएका छन् । मोतिराम सापकोटालाई लुम्बिनी प्रदेशमा खटाइएको छ । लोकसेवा आयोगमा भने मुक्तिराम अर्याल भित्रिएका छन् । केही समय अघि मात्र सहसचिव बढुवा भएका मुकेश डंगोललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काज सरूवा गरिएको छ ।
कही सहसचिवको रोजाई विपरीत सरुवा
सहसचिव ध्रुव गिरीलाई गण्डकी प्रदेशमा खटाइएको छ । आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बढुवा भएका धनकुटा निवासी एकदेव अधिकारीलाई कोशी प्रदेशमा सरुवा गरिएको छ । सफल पोर्तेल लोक सेवा आयोगमा भित्रिएका छन् । लक्ष्मी कुमार विकलाई भने कर्णाली प्रदेशमा खटाइएको छ । सहसचिव राजन पोखरेल राष्ट्रिय योजना आयोगमा भित्रिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सुई कृष्णराज पन्थलाई भने अपमानजनक ढंगले राष्ट्रिय सतर्कता केन्द्र सरुवा गरिएको छ । जबकि, केन्द्रमा भर्खरै बढुवा भएका नयाँ सहसचिवलाई मात्र खटाउने गरिएको थियो । मन्त्रालयको महाशाखा संहाल्दै आएका उनलाई किन एक्कासी केन्द्रमा लखेटियो भन्दै सो मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आश्चर्य प्रकट गरेका छन् । त्यति मात्र होइन, मैनाली र पन्थलाई सहमतिबेगर यी निकायमा सरुवा गरिएको बताइएको छ ।
सहसचिव लक्ष्मीप्रसाद उपाध्याय भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खानेपानी मन्त्रालय सरूवा भएका छन् । शहरी विकास मन्त्रालयमा कार्यरत सुई पदम कुमार मैनालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ । उनले पनि आफू काँग्रेस निकट भएको दावी गर्दै आएका थिए । तर, नेपाली काँग्रेसबाट वर्तमान सरकारमा नेतृत्व गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उनलाई आयोगमा पठाउन किन राजी भए भन्ने प्रश्नसमेत उठेको छ । सहसचिव वसन्त प्रसाद कोइरालालाई लुम्बिनी प्रदेशमा खटाइएको छ ।
राज कुमार गोइतलाई मधेस प्रदेश र सो प्रदेशमा कार्यरत सुई सुरत बमलाई भने खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । सुई प्रेमदत्त भट्ट र ओम बहादुर खड्कालाई सुदूरपश्चिम प्रदेशमा खटाइएको छ । मोहनराज काफ्लेलाई भने वन तथा वातारण मन्त्रालयमा भित्र्याइएको छ ।
यी शक्तिशाली सचिवको सरुवा बदर
यसअघि लुम्बिनी प्रदेशमा खटाइएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णले भने सरुवा नै बदर गराउन सफल भएको जानकारी हुन आएको छ । अघिल्लो सरुवामा उनलाई लुम्बिनी प्रदेशमा खटाइएको थियो । तर, कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको निगाह अनुसार सरुवा बदर गराएर विभागमै बस्न सफल भए ।
सहसचिव प्रमोद भट्टराईलाई लुम्बिनी प्रदेशमा खटाइएको छ । सहसचिव डा. श्रवण कुमार मिश्र मधेस प्रदेश र प्रदीप अधिकारीलाई भने कोशी प्रदेशमा सरुवा गरिएको छ । वीरेन्द्र कुमार मिश्रलाई सुदूरपश्चिम प्रदेश र दीर्घनारायण कोइराला भने सुदूरपश्चिम प्रदेशमा खटाइएको छ । सामान्य प्रशासन मन्त्रालयबाट झण्डै दुई महिना अगाडि गृह मन्त्रालयमा सरुवा गरिएका सहसचिव बलराम रिज्याल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भित्रिएका छन् ।
प्रमुख जिल्ला अधिकारी भएर जानको लागि उनी गृहमा गएपनि पर्वत निवासी सहसचिवहरुले उनलाई रोकेपछि बाध्य भएर भौतिक मन्त्रालयमा सरुवा हुनु परेको छ । यतिखेर गृहमा स्याङ्जा र पर्वत निवासी सहसचिव र उपसचिवहरुको वोलवाला निकै बढेको कर्मचारीहरु चर्चा गर्छन् । सहसचिव विनोद कुमार भट्टराईलाई बागमती प्रदेश खटाइएको छ । वैकुण्ठ अधिकारी भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भित्रिएका छन् । अनिल कुमार दत्त र भीष्म कुमार भूषाल भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भित्रिएका छन् ।
योजना आयोगबाट सहसचिव कृष्णप्रसाद सापकोटा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । २०८१ माघमा सहसचिव बढुवा भएका चिरञ्जीवी तिम्सिना भने अर्थ मन्त्रालयमा भित्रिएका छन् । शंकर साहलाई सुदूरपश्चिम प्रदेशमा खटाइएको छ । बद्रीनाथ गैहे्र भने गृह मन्त्रालयमा भित्रिन सफल भएका छन् । सहसचिवद्वय राम गोविन्द अर्याल र मुकेश रेग्मी भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय सरूवा भएका छन् । (साँघु साप्ताहिक, २०८२ वैशाख १५)
प्रतिकृया दिनुहोस