• सोमबार-बैशाख-१५-२०८२

भारतीय नेताहरूको नेपाल भ्रमण बाक्लिँदै : चौथाइवालाको आगमन, राजनीतिक सन्देश ?

 

काठमाडौं । केही महिना यता भारतीय नेताहरूको नेपाल भ्रमण बाक्लिंदै गएको छ । धार्मिक आस्था र राजनीतिक संवाद मिसिएको यी भ्रमणहरूले नेपाल–भारत सम्बन्धमा नयाँ बहस र जिज्ञासा उत्पन्न गराएका छन् ।


धार्मिक यात्राको आवरणमा राजनीतिक उद्देश्य लुकेको वा नेपाली राजनीतिमा प्रभाव जमाउने रणनीति रहेको विश्लेषण भइरहेका बेला, पछिल्लो समय भएका र आउन लागेका भ्रमणहरूले परिस्थिति झन् रोचक बन्दै गएको छ ।


खट्टरको विकास संकेत
२०८२ वैशाख ९ र १० गते, भारतीय विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहर लाल खट्टरले दुई दिने नेपाल भ्रमण गरे । खट्टरले मुक्ति नाथको दर्शन र ललितपुरस्थित विश्व प्रसिद्ध धार्मिक स्थलहरु अवलोकन गरे भने नेपाली नेतासँग पनि भेटघाट गरेका थिए ।


उनको भ्रमणलाई धार्मिक पक्ष मात्र नभई, नेपालमा भारतको विकास सहयोग विस्तार गर्ने प्रयासको रूपमा पनि हेरिएको छ । खट्टरको टोलीले ऊर्जा तथा शहरी विकास परियोजनाहरूमा सहकार्यको विषयमा चासो देखाएको स्रोतहरू बताउँछन् ।


चौथाइवालाको आगमन, राजनीतिक भेट
यसै साता २०८२ वैशाख १७ गते, भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाला नेपालको राजनीतिक भेटवार्तामा सहभागी हुँदै छन् । नयाँ दिल्लीस्थित स्रोतहरूका अनुसार, चौथाइवालाले नेपालका विभिन्न दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भइसकेको छ ।


नेपालमा चौथाइवालालाई आरएसएस र भाजपाको नेपाल रणनीतिक संयोजकका रूपमा हेरिन्छ । उनको भ्रमण आगामी नेपाली राजनीतिक परिदृश्यप्रति भारतको चासो प्रकट गर्ने माध्यम बन्ने अनुमान गरिएको छ ।


कोशियारीको धार्मिक कूटनीति
बीजेपीका अर्का नेता तथा महाराष्ट्र र उत्तराखण्डका पूर्व राज्यपाल भगत सिंह कोशियारी पनि २०८२ वैशाख २४ गते धार्मिक उद्देश्यले नेपाल आउने भएका छन् । कोशियारीको भ्रमण विशेषगरी धार्मिक कार्यक्रम र पशुपतिनाथलगायतका धार्मिक स्थलहरूको अवलोकनमा केन्द्रित हुने बताइएको छ । तर, राजनीतिक वृत्तमा उनलाई धार्मिक आवरणमा भारतको सांस्कृतिक प्रभाव विस्तार गर्ने प्रयासका रूपमा समेत हेरिएको छ ।


बाबुराम भट्टराई दिल्लीमा
नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई २०८२ वैशाख १४ गते दिल्ली प्रस्थान गरेका छन् । यद्यपि उनको यात्रा औपचारिक रूपमा स्वास्थ्य उपचारको उद्देश्यका लागि भनिए पनि, राजनीतिक वृत्तमा भट्टराईको भारत भ्रमणले थप अर्थ खोज्न थालिएको छ । भारतमा रहँदा उनले भारतीय नेताहरूसँग भेटवार्ता गर्ने वा राजनीतिक सन्देश आदानप्रदान गर्ने सम्भावनाबारे चर्चा भइरहेको छ ।


रणनीतिक सन्देश
यी यात्राहरूलाई लिएर विश्लेषकहरू भन्छन्–भारतले नेपालसँगको सम्बन्धलाई नयाँ ढंगले सक्रिय बनाउने प्रयास गरिरहेको छ । धर्म, विकास र प्रत्यक्ष राजनीतिक संवादका माध्यमबाट भारतले नेपालमा सौम्य प्रभाव(कयात ष्लागिभलअभ) विस्तार गर्ने रणनीति लिएको बुझ्न सकिन्छ ।


अवसर र चुनौती
यी भ्रमणहरूले नेपालका लागि अवसर र चुनौती दुवै ल्याएका छन् । एकातर्फ, नेपालले भारतसँग विकास र सहकार्यको अवसर बढाउन सक्छ, अर्कोतर्फ, रणनीतिक दबाब र राजनीतिक सन्तुलन बिग्रने जोखिम पनि रहन्छ ।


यस सन्दर्भमा, नेपाली नेतृत्वको परिपक्वता, कूटनीतिक संवेदनशीलता र राष्ट्रिय हितप्रति प्रतिबद्धता अत्यन्तै महत्वपूर्ण बन्ने छ । (साँघु साप्ताहिक, २०८२ वैशाख १५) 

प्रतिकृया दिनुहोस