• सोमबार-श्रावण-२६-२०८२

आरजुलाई उपप्रधानमन्त्री बनाइँदै ? : मन्त्रिपरिषद् छिट्टै पुनर्गठनको संकेत

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक सार्वजनिक रूपमा ‘अब नेपालका प्रधानमन्त्री महिला हुनुपर्छ” भन्ने अभिव्यक्ति दिंदै आएका छन् । यही प्रसंगमा नेपाली कांग्रेस निकट स्रोतका अनुसार, परराष्ट्र मन्त्री आरजु राणा देउवालाई महिला प्रधानमन्त्रीको सम्भावित ‘लाइन’मा राख्ने उद्देश्यले गृहकार्य सुरु भएको छ ।


ओली–देउवा सहमति पछि गृहकार्य सुरु
केही समयअघिसम्म प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रिपरिषद् हेरफेर वा पुनर्गठनबारे सहमति जुटेको थिएन । तर, पछिल्लो राजनीतिक सम्वादपछि दुवैबीच समझदारी बनेको र पुनर्गठनका लागि गृहकार्य सुरु भएको स्रोतको दाबी छ ।


यसअन्तर्गत आरजु राणालाई पदोन्नति गर्दै उपप्रधानमन्त्री बनाउने विषयमा छलफल अघि बढेको बताइएको छ । सत्ता सञ्चालन सहज बनाउन २०८३ असारसम्मका लागि उनलाई उपप्रधानमन्त्री बनाउने तयारी भइरहेको जानकारी स्रोतले दिएको छ ।


शेरबहादुर–आरजु दुवैलाई
सन्तुष्ट पार्ने रणनीति

स्रोतका अनुसार, यसरी नियुक्ति गर्दा शेरबहादुर देउवा र आरजु दुवै सन्तुष्ट हुने र सत्ता–साझेदारी सहज हुने विश्वास गरिएको छ । अनि, अहिले नै आरजुलाई उपप्रधानमन्त्री नबनाएमा भोलिको राजनीतिक परिस्थिति अनिश्चित हुने आंकलन छ ।


यो कदमलाई शेरबहादुर देउवाको उत्तराधिकारी तयार गर्ने दीर्घकालीन रणनीतिसँग पनि जोडिएको मानिन्छ । तर, आरजु उपप्रधानमन्त्री बनेपछि हाल उपप्रधानमन्त्री रहेका प्रकाशमान सिंहको पद जाने निश्चित देखिन्छ ।


कांग्रेसभित्र असन्तुष्टि र 
बबण्डरको सम्भावना

आरजु उपप्रधानमन्त्री बन्ने र सिंहको पद जाने अवस्थामा नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्ने र अर्को बबण्डर मच्चिने सम्भावना बलियो भएको बताइन्छ । मात्र बबण्डर होइन, असामान्य परिस्थिति उत्पन्न हुने चर्चा समेत कांग्रेस दलभित्र सुरु भएको छ ।


ठूलो फेरबदलको तयारी
मन्त्रिपरिषद् पुनर्गठनमा उपप्रधानमन्त्री प्रकाशमान सिंह मात्र नभई, अन्य मन्त्रीहरूको पद पनि प्रभावित हुने देखिन्छ । शहरी विकास मन्त्री प्रकाशमान सिंह, उर्जा मन्त्री दीपक खड्का, कृषि मन्त्री रामनाथ अधिकारी, भूमिसुधार मन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र खानेपानी मन्त्री प्रदीप यादव हट्ने चर्चा स्रोतहरूमा व्यापक छ । यो फेरबदलपछि सत्तारूढ गठबन्धनको शक्ति–सन्तुलन, पार्टीभित्रको समीकरण र आगामी राजनीतिक बाटोमा ठूलो प्रभाव पर्न सक्ने विश्लेषण सुर भएको छ ।


राजनीतिक पृष्ठभूमि
नेपालको सत्ता–साझेदारीको राजनीति प्रायः दलहरूको आन्तरिक सन्तुलन र बाह्य शक्तिमा टेकेको महसुस हुन्छ । ओली–देउवा सम्बन्ध विगतमा उतार–चढावपूर्ण भए पनि वर्तमानमा शक्ति सन्तुलनका लागि सहकार्यको आवश्यकता देखिएको छ । महिला नेतृलाई उच्च कार्यकारी पदमा पु¥याउने कुरा पनि पछिल्ला वर्षमा राजनीतिक बहसको विषय बन्दै आएको छ ।


सम्भावित लाभ
सत्ता सञ्चालनमा तत्काललाई स्थिरता र गठबन्धनको सहजता । महिला नेतृत्वलाई उच्च पदमा पु¥याएर सकारात्मक राजनीतिक सन्देशको अपेक्षा गरिएको हुन सक्छ । देउवा–ओलीबीचको सहकार्य मजबुत भएर आगामी सत्ता समीकरणमा सहजताका लागि प्रयासको रुपमा पनि विश्लेषण हुँदैछ ।


सम्भावित हानी
कांग्रेसभित्र गुट–असन्तुष्टि र नेतृत्व संकटको सम्भावना । पद गुमाउने मन्त्री र तिनका समर्थकहरूको असन्तोषले स्थिरतालाई असर पु¥याउन सक्ने छ । २०८४ को स्थानीय र आम आन्तरिक विभाजनको धाजा बढ्ने सम्भावना पनि छ ।


विश्लेषण
आरजु राणाको सम्भावित उपप्रधानमन्त्री नियुक्ति केवल एक पदोन्नति मात्र होइन, दीर्घकालीन राजनीतिक खेलको हिस्सा हुने विश्लेषण पनि भइरहेछ । यो कदम सफल भएमा उनी भविष्यको प्रधानमन्त्री ‘लाइन’मा देखिने सम्भावना बलियो हुनेछ । तर, यसले कांग्रेसभित्र शक्ति–प्रतिस्पर्धा चर्काउन सक्छ र गठबन्धनको ‘स्थायित्व’ सधैं सुनिश्चित नहुन सक्छ । (साँघु साप्ताहिक, २०८२ साउन २६)
 

प्रतिकृया दिनुहोस