काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम सातातिर, (२०८२ भदौ ३१ गतेदेखि) भारत भ्रमणमा जान तयारीरत छन् । यसअघि नै भारतीय पक्षले सम्बन्ध सुधारको संकेत दिँदै भारतीय विदेश सचिव विक्रम मिश्रलाई २०८२ भदौ १ गते नेपाल पठाउने तयारी गरेको खबर छ । मिश्रको नेपाल आगमनलाई ओलीको भ्रमणपूर्वको ‘ग्राउन्ड प्रिपरेशन’का रूपमा लिइएको छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण एक विशेष दिनमा हुन लागेको छ । सो दिन(सेप्टेम्बर १७) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन समेत परेकाले नेपालको तर्फबाट विशेष उपहार प्रदान गरिने चर्चा समेत चल्ने गरेको छ । नेपाल र भारतबीच औपचारिक एजेन्डामा गहिरो छलफल सुरु भइसकेको छैन ।
शीर्ष राजनीतिक वृत्तमा पनि खास तयारी देखिँदैन । तर, दुई दिनको छोटो भ्रमणमा यसपटक दुवै मुलुकले ठूला मुद्दाभन्दा पनि सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेका छन् । भारत, पछिल्ला वर्षमा ओलीसँगको सम्बन्धमा देखिएको दूरी कम गर्नतर्फ अग्रसर देखिन्छ ।
आन्तरिक र बाह्य कारणले भारतको चासो
विश्लेषकहरूका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल–ओली सम्बन्ध सुधारको पहल पछाडि आन्तरिक र बाह्य दुवै कारण रहेका छन् । नेपालको आन्तरिक राजनीतिमा एमाले–कांग्रेस गठबन्धन तत्काल नटुट्ने संकेत देखिएको र ओलीको प्रभाव अझै बलियो रहेको मूल्याङ्कन भारतले गरेको छ ।
बाह्यतर्फ, भारतको कूटनीतिक घेराबन्दी बढ्दो छ–अमेरिकासँग मतभेद, चीनसँग पुरानै द्वन्द्व, पाकिस्तानसँग शत्रुतापूर्ण सम्बन्ध, श्रीलङ्कामा चीन समर्थक सत्ता, बंगलादेश अमेरिकी धुरीमा, माल्दिभ्स र भुटानमा असन्तुष्टि । यी परिस्थितिले भारतलाई बाध्यतावश भए पनि नेपालसँग ‘आइसब्रेक’ गर्न प्रेरित गरेको कूटनीतिज्ञहरुको विश्लेषण रहेको छ ।
‘भारतीय चाहना’ र ओलीको बाध्यता
अति छोटो दुई दिने यो भ्रमण नेपालको भन्दा भारतीय चाहना र रणनीतिसँग बढी जोडिएको देखिन्छ । मोदी नेतृत्वको भारतले नेपालको एजेन्डालाई प्राथमिकतामा राखेर ‘उदार’ सन्देश दिन खोजिरहेको बुझिन्छ ।
अर्कोतर्फ, ओली पनि आन्तरिक राजनीतिक कारणले भारतसँगको सम्बन्ध सुधार्ने दबाबमा छन् । पार्टीभित्रको असन्तोष कम गर्न र नीतिगत निर्णयहरू कार्यान्वयनमा भारतलाई विश्वासमा लिने उनको रणनीति रहेको बुझिन्छ ।
सम्बन्ध सुधारको मोड
लामो समयको संवादहीनता र आपसी अविश्वासपछि नेपाल–भारत सम्बन्ध अब नयाँ मोडमा प्रवेश गर्ने संकेत देखिन्छ । भारतले आफ्ना कूटनीतिक प्राथमिकतामा नेपाललाई पुनः केन्द्रीय स्थान दिन खोजेको छ भने ओलीले यसलाई आफ्नो राजनीतिक पकड मजबुत पार्ने अवसरका रूपमा देखेका छन् । अब प्रश्न यही हो–ओलीको २०८२ भदौ ३१ गते देखिको भारत यात्रा के ‘सौहार्दको स्थायी मोड’ बन्नेछ, वा यो केवल अस्थायी ‘आइसब्रेक’ मात्र हुने हो ? वा नयाँ नीति र उद्घोषका साथ मित्रताको गाँठो मजबुत भएर अगाडि बढ्ने हो ? त्यसको उत्तर दुवै मुलुकको आगामी कूटनीतिक कदमले दिनेछ । (साँघु साप्ताहिक, २०८२ साउन २६)
प्रतिकृया दिनुहोस