• सोमबार-श्रावण-२६-२०८२

गृह : अनुभवहीन सहसचिव बने उपनिर्वाचनको कमाण्डर !: सिडिओ सरूवामा किन मिचिन्छ मापदण्ड ?

 

काठमाडौं । गृह मन्त्रालयले रूपन्देही र सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीद्वय बासुदेव घिमिरे र किरण थापालाई छोटै समयमा मन्त्रालय तानेर नयाँ सहसचिवहरुलाई खटाएको छ । २०८१ कार्तिक ७ मा कास्की जिल्लाको प्रजिअबाट घिमिरेलाई रूपन्देहीमा सरूवा गरिएको थियो । सहसचिव घिमिरेलाई मन्त्रालयले नौ महिनामै विना कारण मन्त्रालयमा फिर्ता बोलाएको खबर छ । मन्त्रालयले रूपन्देहीको प्रजिअमा विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव डा. टोकराज पाण्डेलाई खटाएको छ ।


लामो समय बरण्डामा थन्क्याइएका सहसचिव बन्धु बास्तोलालाई भने सिन्धुपाल्चोकमा सरुवा गरिएको छ । मन्त्रालयले २०८१ कार्तिक ७ गते रूपन्देही, पर्सासहित १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २७ कर्मचारीको एकैपटक सरुवा गरेको थियो । सहसचिव घिमिरेलाई  रूपन्देहीमा खटाइएपछि त्यहाँ कार्यरत गणेश प्रसाद अर्याललाई भने पर्सामा खटाइएको थियो । पर्सामा कार्यरत दिनेश सागर भूषाललाई भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरूवा गरिएको थियो ।


तर, उनीहरूको सरूवा भने गरिएको छैन । घिमिरेको मात्र सरूवा गरिएको भन्दै गृहका कर्मचारीहरु भने अचम्मा परेका छन । आगामी उपनिर्वाचनलाई दृष्टिगत गर्दै घिमिरेको सरुवा गरिएको अनुमान भइरहेको छ । आगामी २०८२ कार्तिक १७ गते रूपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन हुँदैछ । राप्रपाका नेता दीपक बोहराको मृत्यू भएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । त्यसैले पनि उनले जितेको क्षेत्रमा एमाले निकट मानिने सहसचिव घिमिरेलाई फिर्ता बोलाएर पाण्डेलाई खटाएको आशंका गरिएको छ ।


नेपाली  कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले योजनाबद्ध रुपमा नै उनलाई सरूवा गरेर कांग्रेस निकट सहसचिव पाण्डेलाई रुपन्देहीमा सरुवा गरेको बताइएको छ । २०७९ माघमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन र काज सरुवा गर्नको लागि मन्त्रालयले कार्यविधि तयार पारेको थियो । राजनीतिक दलको पहुँचका आधारमा सिडिओहरूको सरुवा हुने विकृति बढेपछि नियन्त्रणका लागि तत्कालीन मन्त्री बालकृष्ण खाणको कार्यकालमा कार्यविधि तयार गरिएको थियो ।


सोहीअनुसार सिडिओहरूको सरूवा गरिने मापदण्डलाई तत्कालीन गृहमन्त्री रवि लामिछानेको कार्यकालमा भने संशोधन गरिएको मन्त्रालय स्रोत बताउँछ । त्यसबखत काठमाडौं जिल्लाको प्रजिअ हुनको लागि मात्र उक्त मापदण्ड लागु नहुने र अन्य जिल्लाको हकमा मात्र हुनेगरी संशोधन गरिएको मन्त्रालय स्रोतको भनाई रहेको छ । सचिव गोकर्णमणि दुवाडी गृह सचिव भित्रिएपछि सोही मापदण्डमा टेकेर यसअघि नभएकाहरुलाई समेत क वर्गका जिल्लामा सरूवा गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयले त्यसबखत सहसचिव सिडिओ रहने जिल्लाहरुलाई क, ख र ग गरी  तीन वर्गमा वर्गीकरण गरिएको थियो ।

 

क, वर्गमा जिल्लामा काठमाडौं, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देही, ललितपुर र सुनसरी रहेका छन् । त्यस्तै ख वर्गका जिल्लाहरूमा इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, गोरखा, तनहुँ, काभ्रे, भक्तपुर, बारा, धनुषा, धनकुटादेखि सुर्खेतसम्म पर्दछन । ग वर्गका जिल्लाहरूमा अछाम, अर्घाखाँची, रोल्पा, सल्यान, गोर्खा, रामेछाप, ओखलढुंगा आदि जिल्ला रहेका छन् । सिडिओहरुका लागि रूपन्देही, पर्सा, मोरंग र झापा जिल्लाहरु आकर्षक र मालदार मानिन्छन् ।


सिडिओ भएर ख र ग वर्गको जिल्लामा काम गरिसकेका, विभागका महानिर्देशक भएका, मन्त्रालयको महाशाखा प्रमुख भएकाहरूलाई क वर्गको जिल्लाको सिडिओमा सरूवा गर्ने मापदण्ड बनाइएको भएपनि पछिल्लो समय भने कार्यान्वयमा जान सकिरहेको छैन । पहिलोपटक सिडिओ बन्ने अवसर पाएका पाण्डेलाई रुपन्देही जस्तो अति आकर्षक र चुनौतीपूर्ण जिल्लाको जिम्मेवारीमा खटाइएको छ । जबकि, उनले सिडिओको लागि आवश्यकपर्ने एक महिने तालिमसमेत नलिएको मन्त्रालयको कर्मचारी स्रोतले जनाएको छ । सो अनुभवबेगर नै उनले पहिलो पटक रूपन्देहीको सिडिओमा बाजी मार्न सफल भएका छन् । 


पाण्डे सिडियो भएपछि गृह र स्थानीय प्रशासन सम्बन्धी कुनै जानकारी नभएका कर्मचारीको रुपमा चर्चामा छन् । सरकारी सेवाकोक्रममा उनी खरिदार, नासु, शाखा अधिकृत, उपसचिव हुँदा पनि कहिल्यै इलाका प्रशासन, जिल्ला प्रशासन कार्यालय, मन्त्रालयमा बसेर काम गर्ने अवसर नपाएको कर्मचारी स्रोत बताउछ  । जसले गर्दा रुपन्देहीको प्रशासन कमजोर हुने होकि भन्ने आशंका हुन थालेको छ । सहसचिव डा. टोकराज पाण्डे लामो समय मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार विभाग जस्ता ‘मालदार’ निकायहरुमा लामो समय बिताएका कर्मचारी भएको कर्मचारी स्रोत बताउछ ।


सहसचिव भएपछि पनि उनी यातायात व्यवस्था विभागको महानिर्देशक हुने अवसर प्राप्त गरेका थिए । केही समय काठमाडौं महानगरपालिकामा पनि काम गरेका पाण्डे गृहको केही समय बसाइपछि नै ‘क’ बर्ग त्यसमा पनि संवेदनशील जिल्लाको प्रजिअ हुने अवसर प्राप्त गरेका छन् । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन र विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी संहालिसकेका पाण्डेले सिधै रूपन्देहीको सिडिओमा बाजी मार्नुलाई मन्त्रालयमा कार्यरत कर्मचारीले भने आश्चर्यको रुपमा हेरेका छन् ।


अध्ययनशील, मिलनसार स्वभावका उनी क्षमतावान सहसचिव पनि मानिन्छन् । उनी यस अगाडि सिडिओ नभएपनि क्षमतावान प्रशासकको छवि भने बनाएको कर्मचारी स्रोत बताउछ । उनले रूपन्देही जिल्ला र उप निर्वाचन राम्ररी हाँक्न पनि सक्छन् कि सक्दैनन् ? अर्को प्रश्न भने सचिव दुवाडी र मन्त्री लेखकले आफ्नै दल कांग्रेसका नेताले तयार पारेको मापदण्डको पालना नगरेर किन मिचे भन्ने रहेको छ । 


रूपन्देहीको उपनिर्वाचनमा कांग्रेसले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा जेल परेर धरौटीमा छुटेका अभियुक्त पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिताउन सहसचिव पाण्डेलाई खटाइएको हुन सक्ने अड्कल विपक्षी दलहरुले गरेका छन् । एमालेले सो क्षेत्रमा पोलिटव्युरो सदस्य खिमलाल भट्टराईलाई उठाउने चर्चा बाहिर आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सो क्षेत्रमा जित्ने गरी प्रचारप्रसारलाई तीव्र बनाएको छ । सात वटा मधेसवादी मोर्चाहरूले कुलमान घिसिङलाई साझा उम्मेदवार बनाउन खोजिरहेका छन् । तर, घिसिङले स्वीकृति भने दिइनसकेको बताइएको छ ।


रुपन्देहीको सिडिओ खटाउँदा विगतमा अन्य जिल्लामा जिम्मेवारी संहालेकालाई मात्रै खटाउने प्रचलन रहेको थियो । गृहमन्त्री लेखक र सचिव  दुवाडीले पाण्डेलाई भने पहिलो पटक नै सिधै रूपन्देहीमा खटाएर रेकर्ड तोडेका छन् । सिन्धुपाल्चोकका सिडिओ किरण थापा भने नेपाली कांग्रेसका निलम्बित सांसद मोहन बहादुर बस्नेतलाई रातो कार्पेट बिछ्याएर प्रमुख अतिथि बनाए बापत गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतको भनाई रहेको छ । उनको सेवा अवधि भने करिब चार महिनामात्र बाँकी रहेको बताइन्छ । जसले गर्दा अब उनले गृहमा कुर्सी नपाइ बराण्डबाटै अवकास पाउने संभावना बढेको छ । (साँघु साप्ताहिक, २०८२ साउन २६) 
 

प्रतिकृया दिनुहोस