• बिहीबार-बैशाख-१३-२०८१

नक्कली शरणार्थी प्रकरण : दुई करोड काण्ड, भूमिगत ‘राजनीतिक बिचौलिया’को पहिचान

 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, मन्त्री, गृह सचिवसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिसकेको छ । ठगी, संगठित अपराध, कीर्ते, राज्यविरुद्ध अपराध र एकीकृत कसुरमा यतिबेला काठमाडौं अदालतमा धमाधम बयान चलिरहेको छ । नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धान चलिरहेका बेला एकजना व्यक्ति राजनीतिक ‘विचौलिया’ भनेर बयानमा पोलिए । 


शरणार्थी ठगी प्रकरणमा मुछिएका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले जिल्ला सरकारी वकिलसँगको बयानमा बेचन झा नाम गरेका व्यक्तिलाई राजनीतिक विचौलिया भनेर पोलेका थिए । त्यसपछि उनी को हुन् भनेर सर्वत्र चासो र खोजीको विषय बन्दै आएको थियो । प्रहरी अनुसन्धान शुरु भएदेखि नै उनी फरार छन् । 


नक्कली शरणार्थी प्रकरणमा झाका नाममा रहेको दुई करोड रुपैयाँको चेक समेत प्रहरीले फेला पारेको थियो । अभियुक्त पाण्डेले बयानकाक्रममा झालाई भारतीय नागरिक रहेको बताएका थिए । झा पक्राउ परेपछि यस विषयमा थप तथ्य खुल्ने पाण्डेले सरकारी वकिलसँगको बयानमा खुलाएका छन् । पाण्डेले उनलाई ‘राजनीतिक बिचौलिया’ भनेका थिए । झा राजनीतिक रूपमा सम्पर्कमा आएको भनाई पाण्डेको थियो । 


पाण्डेले सरकारी वकिलसँग विगतदेखिको गतिविधि र आफ्नो कार्यकालमा यस विषयमा सम्पर्कमा आएका व्यक्तिहरूको ‘कनेक्सन’ हेर्दा शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको देखिएको बताएका छन् । ‘राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ,’ तत्कालीन गृह सचिव पाण्डेले भनेका छन् । 


सचिव पाण्डेले झाको नामै किटान गरेर शरणार्थी प्ररकण ‘राजनीतिक कनेक्सन’ को विषय भएको दावी गरेका छन् । मुद्दा दर्ता भई बयान चलिरहेका बेला शरणार्थी काण्डमा मुख्य राजनीतिक बिचौलिया भनेर किटान गरिएका झाको हुलिया खुलेको छ । उनको परिचय खुलेसँगै ‘लहरो तान्दा पहरो थर्किने’ अनुमान गरिएको छ ।

 

स्रोतका अनुसार, झा राजनीतिक रुपमा नेताहरूसँग विचौलियाको काम गर्ने गर्दथे । झाको नाममा काटिएको २ करोड रुपैयाँको चेकले यस्तो कनेक्सनलाई बल दिएको छ । तर झा लामो समयदेखि नेपालमा बस्दै आएका भारतीय नागरिक हुन् । उनले सिरहाकी नेपाली चेली बिहे गरेका छन् । झाको स्थायी बसोबास काठमाडौंको मध्यबानेश्वरमा छ । 


सिरहा काँग्रेसका एक नेताले झा नेपाली कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ रहेको बताए । ती नेताले जनाए अनुसार भारतीय नागरिक भए पनि शंकास्पद गतिविधि गर्ने झा ४० वर्षदेखि काठमाडौंमै बस्छन् । 


  नक्कली शरणार्थी गिरोहका नाइकेहरु धमाधम पक्राउ पर्न थालेपछि उनी भने फरार छन् । यतिबेला उनी प्रहरीको सर्वाधिक खोजीको सूचीमा छन् । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालादेखि हालका सभापति शेरबहादुर देउवासँग झाको भित्री उठवस रहेको बताइन्छ । ‘झाको काँग्रेसका सभापति र उच्च नेतासँग बेडरुमदेखि भान्सासम्मै पहुँच छ,’ स्रोत भन्छ । 


झाको खास व्यवसाय भनेको बिचौलिया र ठेक्कापट्टा हो । खासगरी जलविद्युत् क्षेत्रका ठूल्ठूला ठेक्का लिने गरेको बताइएको छ । विगतमा विद्युत प्राधिकरणबाट ट्रान्सफर्मर खरिददेखि ‘एसआर कन्डक्टर’ खरिदसम्मका ठेक्काहरू हात पार्दै आएका बिचौलिया हुन् । 


टोपबहादुर रायमाझी ऊर्जामन्त्री छँदा पनि उनीसँग झाको राम्रो सम्बन्ध रहेको विश्वस्त स्रोतले जनाएको छ । काँग्रेस निकट रहेर लाभ लिँदै आएका शंकास्पद गतिविधि गर्दै आएका झाको अन्य प्रमुख दलका नेतासँग पनि राम्रो कनेक्सन रहेको जानकारीमा आएको छ । यतिमात्र नभै सूचना वाहक झाको भारतीय दूतावाससँग पनि उनको सुमधुर सम्बन्ध रहेको बताइन्छ ।


 ‘नेता र गिरोहबिच राजनीतिक विचौलियाका रुपमा उनले खेतीपाती चलाउँदै आएका थिए,’ झालाई चिन्नेहरु भन्छन्, ‘शरणार्थी काण्डमा झाका नाममा काटिएको दुई करोडको चेकले पनि यही तथ्यलाई पुष्टि गर्दछ ।

 

यो रकम नक्कली शरणार्थीबाट असुलेकोमध्ये भागविलो अनुसार माथिल्लो तहसम्मै पुगेको गंभीर आशंका छ ।’ उनी पक्राउ परे शरणार्थी काण्ड माथिल्लो तहसम्मै छ्यालव्याल हुने जोखिम बढ्ने भएकाले गिरोहबाट नाम किटिएर पनि छानविनको दायरामा नल्याइएका उच्च राजनीतिक तहका आरोपी सलवलाउन थालेका छन् । गोप्य सम्पर्क सूत्रमार्फत सामसुम पार्न चलखेल शुरु गरेको स्रोतको दावी छ ।

(साँघु साप्ताहिक, २०८० जेठ १५ गते)
 

प्रतिकृया दिनुहोस