काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनमा दुई नेताप्रति बढी आशंका गरिरहेका छन् । माओवादी स्रोतहरुका अनुसार, पछिल्ला दिनमा देखिएको दृश्यमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माका गतिविधिका कारण प्रचण्डले आशंका गर्न थालेका हुन् । श्रेष्ठ र शर्माले निरन्तर प्रचण्डलाई प्रभावित हुने गरी गतिविधि गरिरहेका छन् ।
पार्टीलाई जानकारी नै नदिई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको र उक्त भेटमा माओवादी केन्द्रमा बस्न सक्ने अवस्था नभएको बताएको सूचना खुमलटार पुगेको खबर छ । प्रचण्डसँग साथसाथै लामो समय जान सकिने अवस्था नभएकोले नयाँ परिस्थिति निर्माण गर्नुपर्ने भण्डारीसँग श्रेष्ठले कुराकानी गरेको स्रोतको दावी छ ।
त्यही दावीपछि प्रचण्डले श्रेष्ठसँग किन भेटेको र जानकारी किन नगराएको भनेर सोधेको पनि माओवादी स्रोतको बनाइ छ । त्यसक्रममा श्रेष्ठले जानकारी गराउँला भन्दाभन्दै ढिला भएको जवाफ दिएर अमेरिकातिर हिंडेका थिए । त्यसैगरी, बालुवाटार पुगेर शर्माले पनि माओवादी केन्द्रमा बस्न सक्ने अवस्था नभएको बताउने गरेको चर्चा छ । उक्त सूचना पनि प्रचण्डले पाइरहेका छन् । त्यसो हुँदा प्रचण्डले यी दुई नेतालाई गहिरो निगरानीमा राखेका छन् । र, पछिल्ला दिनमा प्रचण्डले शर्मासँग झन् आशंका भने कुलमान घिसिङ प्रकरणबाट पनि गर्न थालेका छन् । उज्यालो नेपाल अभियान भनेर कुलमानले नयाँ पार्टी बनाउने अभ्यास गरेका छन् ।
प्रचण्डनिकट भनेर कुलमानलाई प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । तर, अहिले नयाँ पार्टीको अभ्यास गर्न खोजेपछि प्रचण्डले उनलाई शर्माको संकेतमा काम गरेको हुन सक्ने आशंका गरेका छन् । शर्माको डिजाइनमा नै कुलमान खाडी मुलुकतिर सक्रिय भएको हुन सक्ने भन्दै अहिले माओवादीभित्र चर्चा पनि हुन थालेको छ ।
माओवादी स्रोतका अनुसार, प्रचण्डले पछिल्ला दिनमा दुई नेतासँग जसरी आशंका गरेका छन्, अर्को भरपर्दो नेता भने पाएका छैनन् । वर्षमान पुनको भूमिका भरपर्दो नभएको र जो नेता प्रचण्डनिकट छन्, उनीहरुको संगठनमा खासै प्रभाव नभएको कारणले पनि प्रचण्डमा पछिल्ला दिनमा उकुसमुकुस बढ्न थालेको स्रोतको दावी छ । (साँघु साप्ताहिक, २०८२ साउन ५)
प्रतिकृया दिनुहोस