• शनिबार-श्रावण-१०-२०८२

गृहको बरण्डा कहिले खाली होला ? : पहुँचवालाहरुलाई रोजी रोजी नयाँ जिम्मेवारी 

 

काठमाडौँ । हाल गृह मन्त्रालयमा रहेका आधा दर्जन भन्दा बढी सहसचिवहरुले लामो समयदेखि जिम्मेवारी नपाउँदा बरण्डामा टहलिन बाध्य छन् । यो विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बाराम्वार ध्यानाकर्षण गराएपनि मन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीको कानमा बतास लाग्न सकिरहेको छैन । बरु मन्त्रालयले लामो समयसम्म बरण्डामा राखेर आफूहरुको हूर्मत लिने कार्य गरेको भन्दै उनीहरुले असन्तुष्टि जाहेर गरेका छन् ।


तर, यही मेसोमा मन्त्रालयले ०८२ असार ३१ गते मंगलबार अध्यागमन विभागका महानिर्देशक गोबिन्द प्रसाद रिजाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख विष्णुप्रसाद कोइरालासहित पाँच सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले अध्यागमन विभाग कालिकास्थानमा मन्त्रालयमा शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव रामचन्द्र तिवारी खटाएको छ । विभागमा कार्यरत रिजाललाई भने उक्त महाशाखामा सरुवा गरेको बताइन्छ ।


त्यसैगरी, मन्त्रालयले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सहसचिव कोइरालालाई मन्त्रालयमा तानेर खोटाङका प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका सहसचिव नरहरि घिमिरेलाई खटाएको छ । सहसचिव रिजाल यसअघि काठमाडौंको प्रमुख जिल्ला अधिकारीलगायत दर्जनौँ जिल्लाको प्रजिअ भईसकेका अनुभवी प्रशासकका रुपमा परिचित छन् । चर्चित भिजिट भिसा प्रकरणमा उनी विभागको नेतृत्वमा रहँदा पनि कहीँकतै पनि उनको नाम जोडिएको छैन ।


जसले गर्दा निजामती प्रशासनमा उनलाई अनुभवी, शालीन, एवं भद्र सहसचिवका रूपमा हेरिदै आएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई छोटो समयमै मन्त्रालयमा सरुवा गरिएको छ । उनको स्थानमा हाल खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव घिमिरेलाई खटाइएको छ । सहसचिव कोइरालाको लगभग दुई महिनाको कार्यकालमा प्रशासनिक सुधारका लागि सकारात्मक प्रयास गरेको कर्मचारीहरु बताउँछन् ।


भरखरै एयरपोर्टमा खटाइएका सहसचिव घिमिरे पनि अनुभवी प्रशासक मानिन्छन् । उनी गृहमा भित्रिनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारीमासमेत रहेर काम गरेका थिए । मन्त्रालयले सहसचिव कल्पना श्रेष्ठलाई भने खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाएको छ । अध्यागमन विभागको जिम्मेवारीमा खटाइएका सहसचिव तिवारी पनि अनुभवी प्रशासका मानिन्छन् ।


उनले करिब १६ महिना उद्योग विभागको महानिर्देशक, सुनसरी जिल्लाको प्रजिअ र मन्त्रालयको अति नै महत्वपूर्ण मानिने शान्ति सुरक्षा महाशाखा प्रमुख एवम् प्रवक्ताको जिम्मेवारीमा रहेर विभागको नेतृत्व संहाल्न पुगेका छन् । तरपनि मन्त्रालयले माथि उल्लेखित प्रशासकहरुलाई राजनीतिक पहुँचकै आधारमा उक्त जिम्मेवारी दिएको मन्त्रालयमा कार्यरत कर्मचारीहरुले बताए । (साँघु साप्ताहिक, २०८२ साउन ५) 
 

प्रतिकृया दिनुहोस