• शनिबार-श्रावण-१०-२०८२

आयुर्वेद विभागमा लेखादेखि डीजीसम्म सेटिङ

 

काठमाडौं । नेपालमा आयुर्वेदिक औषधि र उपचारको पर्याप्त संभावना छ । तर, आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरबार बैद्यखाना घिटीघिटी छ । आयुर्वेदको विकासका लागि गठित आयुर्वेद विभागका महानिर्देशकहरु कमाउधन्दामा मात्र लिप्त हुँदा यसक्षेत्रको भविष्य अन्धकारमय बनेको कर्मचारीहरु गुनासो गर्छन् । आयुर्वेदको विकासका लागि लाग्नुपर्ने आयुर्वेद विभागका महानिर्देशक डा. श्यामबाबु यादवले विभागलाई कमिसनखोर अड्डाका रुपमा परिणत गराएको आरोप छ । 


स्रोत भन्छ, आफूभन्दा वरिष्ठ डा. बासुदेव उपाध्यायलाई प्रदेशतिर सरुवा गराएर निमित्त महानिर्देशक बनेका यादव आफैं पनि आर्थिक मामिलामा कमजोर मानिन्छन् । विभागको महानिर्देशक भएपछि ठेक्कापट्टादेखि लिएर खरिदमा कमिसनको दररेट तोकेर रकम उठाउँदैआएको आरोप खेपेका यादवलाई दसौं तहकै डा. मुनकर्ण थापाको भरपूर साथ र सहयोग रहँदैआएको कर्मचारी स्रोत बताउछ । लेखा शाखाकी प्रमुख गायत्री लम्सालले पनि यादव र थापाको सेटिङमा साथ दिंदैआएको आरोप छ ।

 

सेटिङबाहेकका काममा महानिर्देशक यादव र थापा विवाद निम्त्याएर कामै नगर्ने गरेको आरोप छ । थापाले विभागभित्रको खरिद शाखा प्रमुखको रुपमा काम गर्दैआएका छन् । उनी करिब एक दशकदेखि विभागको खरिद शाखामा रजगज गर्दैआएका छन् । बीचमा केही महिना नरदेवी आयुर्वेद अस्पतालमा सरुवा भएका थापालाई तत्कालीन महानिर्देशक वासुदेव उपाध्यायले तुरुन्तै बिभागमै फर्काएका थिए । बिभागमा प्रशासन शाखाको उपसचिवको दरबन्दी रहेको छ । र, त्यहाँ एक उपसचिव कार्यरत पनि छन् । खरिद शाखाकै तिनै उपसचिव हुनुपर्ने हो । तर उनलाई बाइपास गरी सबै खरिदका काम थापाले नै गर्दैआएका छन् । औषधि, उपकरण खरिद, छपाइका कामदेखि लिएर कलमको खरिदमा समेत प्रशासनका उपसचिवलाई थाहा नदिई थापाबाटै हुने गरेको कर्मचारीहरु बताउछन् ।


आगामी २०८२ मंसिरमा अवकाश पाउन लागेका डा. थापा र महानिर्देशक यादव एकै तहका हुन् । केही दिनमात्र वरिष्ठ रहेका डा. यादव र थापाबीच दैनिक खरिदकै विषयमा ठाकठुक पर्ने र कमिसनमा भागबण्डा मिलेपछि मात्रै फाइल अगाडि बढ्ने गरेको स्रोतको दावी छ । त्यसमा लेखाकी गायत्रीलाई पनि भागबण्डा मिलाउने गरेको स्रोत बताउछ । 


आयुर्वेद काउन्सिलको अध्यक्ष नियुक्ति हुन अगाडि बढेका डा. यादवलाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नपत्याएपछि पछिल्लो समय उनीहरुबीचको सम्बन्धमा दरार आएको छ । यसअघि आयुर्वेद अनुसन्धान तालिम केन्द्र विकास समिति, नरदेवी आयुर्वेद अस्पतालमा हुँदा समेत डा. यादवको आर्थिक अनियमितताको विषयमा सरोकार केन्द्रमा उजुरी समेत परेका थिए । उनी आर्थिक मामिलामा विवादित हुँदाहुँदै पनि मन्त्री पौडेलले उनलाई जिम्मेवारी दिएका थिए ।

 

नरदेवी अस्पतालमा हुँदा त उपकरण खरिदमा एउटै ब्यापारीबाट २० लाख कमिसन बुझेको आरोप लागेको थियो । अहिले विभागभित्रको आर्थिक अनियमितता छताछुल्ल हुन थालेपछि तत्कालै मन्त्री पौडेलले डा. यादवलाई जिम्मेवारीबाट अलग गर्ने तयारी गरेको बताइन्छ । आयुर्वेद विभागको महानिर्देशकमा डा. रामआधार यादवलाई बनाउने तयारी भइरहेको छ । आयुर्वेद अनुसन्धान तालिम केन्द्र विकास समितिबाट केही समयअघि मात्रै रामआधारको मन्त्रालयमा सरुवा भएको थियो । मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामआधार यादवलाई महानिर्देशक बनाउनका लागि कांग्रेसका केही सांसदहरु नै लागेको चर्चा छ । (साँघु साप्ताहिक, २०८२ साउन ५) 
 

प्रतिकृया दिनुहोस