काठमाडौँ । आगामी २०८२ भदौ २८ गते राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख हुतराज थापा तीनवर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाने भएका छन् । उनी २०७९ भदौ २८ गते विभागको प्रमुखमा बढुवा भएका थिए । तत्कालीन प्रमुख यदुलाल खरेल २०७९ भदौ २६ गते अवकासमा गएसँगै थापाले २०७९ भदौ २८ गतेबाट विभागको नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताइन्छ । २०५३ सालमा नेपाली कांग्रेसको सोर्सफोर्सबाट अनुसन्धान अधिकृतमा प्रवेश गरेका थापा २०५८ राप्रपा र २०७८ मा माओवादी केन्द्र निकट हुन पुगेको गुप्तचर स्रोतले जानकारी दिएको छ ।
थापाका ब्याचीहरु ओम प्रकाश जोशी र टेकेन्द्र कार्की हाल अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) पदमा कार्यरत रहेका छन् । थापाको अवकाशसँगै उनीहरू दुबै जना विभागको नेतृत्वका लागि कसरतमा लागेको बताइएको छ । अघिल्लो पटक पनि थापाले आफ्ना ब्याची अतिरिक्त मुख्य अनुसन्धान निर्देशक जोशीलाई पछाडि पारेर विभागको नेतृत्व हात पार्न सफल भएका थिए । जोशी तीन वर्षपछि पनि पुन विभाग प्रमुख हुने प्रतिस्पर्धामा लागेको बताइन्छ । २०७९ साउन २६ गते थापा र जोशी दुवैलाई सरकारले एआईजीमा बढुवा गरेको थियो ।
जोशी नेपाली कांग्रेस निकट र थापा माओवादी केन्द्र निकट मानिन्थे । तर, तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले रोल्पा निवासी थापालाई प्रमुखमा बढुवा गर्दै पुरस्कृत गरेको बत(ाइन्छ । थापाले विभागको ४१औं स्थापना दिवस २०८२ भदौ १२ गते मनाएर १४ गतेदेखि १५ दिने घर विदा लिएर बस्ने सोचमा पुगेको स्रोत बताउँछ । त्यसैले स्थापना दिवस मनाउनका लागि पूर्व प्रमुखसहित विभागका कर्मचारीलाई निम्ता सुरु गरिसकेको विभाग स्रोतले जानकारी दिएको छ ।
स्थापना दिवसका अवसरमा रक्तदान, खेलकुद प्रतियोगितामा, उत्कृष्ट प्रदेश, जिल्ला र सेक्टर, उत्कृष्ठ कर्मचारी, खेलाडी, रक्तदाताहरूलाई पुरस्कार र सम्मान गर्ने कार्यक्रमसमेत रहेको स्रोतको भनाई रहेको छ । प्रमुख थापाले २०८२ भदौ १३ गते आफू निकट केही कर्मचारीको सरूवा र बढुवा पश्चात विदामा बस्ने तयारी गरेको बुझिएको छ । यदि, थापा घर विदामा बसेको खण्डमा एआईजी जोशी निमित्त प्रमुख हुने विभाग स्रोतले बताएको छ । जोशी प्रशासन विभागको प्रमुख रहेका छन् । त्यसैले उनी थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशकको दौडमा छन् ।
२०७९ असोज पहिलो साता जोशी भन्दा डेढ महिनापछि एआईजीमा बढुवा भएका कार्की पनि प्रमुखमा बढुवा हुन लबिङमा रहेको बताइन्छ । कार्कीले हाल प्रदेश समन्वय तथा इन्टेलिजेन्स विभागको नेतृत्व गरिरहेका छन् । जोशी गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । कार्की भने कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निकट रहेको चर्चा छ । जोशी बुढानीलकण्ठको रोजाईमा एक नम्बरमा रहेको चर्चा भने कार्की प्रधानमन्त्री केपी शर्मा ओलीले मन पराएका वरिष्ठ अधिकृत मानिन्छन् । (साँघु साप्ताहिक, २०८२ भदौ ९)
प्रतिकृया दिनुहोस