• बिहीबार-भदौ-१२-२०८२

मुख्यसचिव अर्यालसँगै को–को घर जाँदै ?

मुख्यसचिव एकनारायण अर्याल

 

काठमाडौं । सरकारले गत आर्थिक वर्ष असार मसान्तसम्ममा नेपाल निजामती सेवा ऐन जारी गर्ने प्रतिवद्धता जनाएको थियो । ०८२ जेठ १५ गते बजेट सार्वजनिक गर्नु अगावै सरकारले जारी गरेको नीति तथा कार्यक्रममासमेत उक्त प्रतिवद्धता जनाइएको थियो । सरकार स्वयम्ले गरेको बाचा समयमा पूरा गर्न सकिरहेको छैन । जसले गर्दा यही २०८२ भदौ १४ गते ऊर्जा, जलश्रोत तथा सिंचाइं मन्त्रालयको उर्जातर्फका सचिव सुरेश आचार्य ५८ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन् । एरोनोटिकल इन्जिनियर  सचिव आचार्यले साढे ४ वर्ष भन्दा बढी समय सचिवको भूमिकामा रहेर अवकासमा जान लागेका हुन् । 


उनीपछि आगामी भदौ १७ गते हाल गण्डकी प्रदेशका प्रमुख सचिवको भूमिकामा रहेका खगेन्द्रप्रसाद सुवेदी पनि ५८ वर्ष उमेरका कारण अनिवार्य अवकाशमा जाने सूचीमा रहेको बताइन्छ । सुवेदी ०८२ असार २ गते मात्र सचिवमा बढुवा भएका थिए । शिक्षा समूहका सचिव सुवेदीले साढे दुई महिना मात्रै नेपाल सरकारको सचिव भएर सेवा गर्ने मौका पाए । यी दुई सचिवको अवकाशपछि आगामी २०८२ मंसिर ९ गते नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जान लागेका छन् ।


उनीसँगै सोही दिन हाल गृहसचिव रहेका गोकर्णमणि दुवाडी पनि ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर घर जान तरखरमा छन । भलै, उनले मुख्यसचिव बढुवाको लागि लबिङ पनि तीव्र पारिरहेको बताइन्छ । उनीसँगै हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्कर पनि मुख्यसचिवको दौडमा रहेको स्रोत बताउछ । मुख्यसचिव अर्याल र सचिव दुवाडीको अवकासपछि आगामी २०८२ मंसिर १७ गते ०५८ वर्षे उमेरहदका कारण हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कानूनतर्फका सचिव फणिन्द्र गौतम पनि अनिवार्य अवकाश जाने सूचीमा दर्ज भइसकेका छन् । 


कथम्कदाचित सचिव दुवाडीले मुख्यसचिवमा बाजी मार्न नसकेको खण्डमा भरतमणि सुवेदीको संभावना देखिएको छ । उनी हाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकामा कार्यरत रहेका छन् । सचिव सुवेदीले मुख्यसचिवमा बाजी मार्न नसकेको खण्डमा उनी पनि आगामी २०८२ पौष २८ गते विशिष्ट श्रेणीको ५ वर्षे सेवा अवधि पूरा गरी अवकास जाने छन् । त्यसपछि राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव सुमनराज अर्याल आगामी २०८२ माघ १८ गते ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन् । 


आगामी २०८२ फागुन ९ गते राष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. रामप्रसाद घिमिरे पनि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जाने छन् । लगत्तै फागुन २३ गते युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव डा. हरिप्रसाद लम्साल पनि ५८ वर्षे उमेरहद पूरा गरेर सरकारी सेवाबाट विदा हुन लागेको बताइन्छ । २०८२ चैत ८ गते हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशवकुमार शर्मा विडारी पनि ५८ वर्षे उमेरका कारण अनिवार्य अवकाशमा जानेछन् । उनीपछि चैत १४ गते पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सचिव डा. दीपककुमार खराल पनि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जाने सूचीमा रहेको बताइन्छ । 


साथै, २०८३ असार २० गते हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी पनि उमेर हदका कारण अवकाशमा जाने भएका छन् । लगत्तै असार २३ गते ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर हाल श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा कार्यरत सचिव कृष्णहरि पुष्कर कर्ण अनिवार्य अवकासमा जाने सूचीमा रहेका छन् । अवकाशमा जानु अगाडि नै उनले मुख्यसचिव पाउने संभावना पनि रहेको चर्चा छ ।


उनलाई सचिव दुवाडी र सुवेदीले रोक्न नसकेको खण्डमा बुर्लाकोटीले वरिष्ठको आधारमा मुख्यसचिव बन्ने अवसर पनि पाउन सक्छन् । त्यसैले सरकारले यी विषयलाई आंकलन गरेर सचिव दुवाडी वा सुवेदीमध्ये एकजनालाई मुख्यसचिव अर्याल अवकाशमा जानु अगावै नियुक्त गरिसक्ने अड्कलबाजी गरिएको छ । आगामी २०८३ असार २७ गते हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपालले पनि सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकासमा जाने सूचीमा परेका छन् ।


उनी अवकाशमा गएसँगै उक्त दरबन्दी स्वतः कटौती हुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । यस अघि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालसहित आधा दर्जन विशिष्ट श्रेणीका सचिवहरू अनिवार्य अवकाशमा गइसकेका छन् । उनीहरु यही वर्ष प्राय ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश गएको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ भदौ ९)
 

प्रतिकृया दिनुहोस