काठमाडौं : पछिल्लो एकदुई महिनाको बिचमा पत्रकारहरुले एउटा मिडिया छाड्ने र अर्कोमा जम्प हान्ने प्रवृत्ति व्यापक बनेर गएको खवर छ । कतै चार महिनासम्म तलव नपाएर, कतैकतै बढी तलव पाएर पत्रकारको ओहोरदोहोर चलेको हो । यसबिचमा दर्जनौंको संख्यामा पत्रकारहरु आतेजाते भएको छ । पछिल्लो समय नागरिक दैनिक छाडेर पत्रकार रविन गिरी नयाँ खुल्दै गरेको नेपाल न्यूज डट कम पुगेका छन् । नागरिक दैनिककै पत्रकार भाषा शर्मा नयाँ खुलेको न्यूज– २४ दैनिकमा प्रवेश गरेकी छिन् । २०८२ साउन २० बाट दैनिक प्रकासन शुरु भएको न्यूज २४ को प्रधानसम्पादकमा चार दशकको पत्रकारिता अनुभव भएका तीर्थ कोइरालाले मोर्चा सम्हालेका छन् ।
यता, समयमा तलव नपाएको पिरलोका कारण शिलापत्र डट कमबाट पत्रकार माधव धितालले भर्खरै राजीनामा दिएर बाटो लागेको खवर छ । उनी अहिले नेपाल प्रेस यूनियनको कोषाध्यक्ष रहेका छन् । यस्तै रातो पाटी अनलाइन छाडेर नेपाल न्यूज डट कम पुगेका दुर्गा दुलाल पाँच महिनासम्म पनि अनलाईनको काम शुरु नभएपछि कान्तिपुर दैनिक पुगेको खबर छ । युवा पत्रकार दया दुदराज पनि कान्तिपुर न्युजरुममा भित्रिएको जनाइएको छ । यता केही समयअघि कान्तिपुरबाट पत्रकार विद्या राई विदा भएकी थिइन् । उनी नेपाल टाइम अनलाइन्मा पुगेकी छिन् ।
इमेज च्यानलबाट नरेन्द्र मानन्धर र मिरा बस्नेत बाहिरिएको जानकारी प्राप्त भएको छ । इमेज च्यानलमै कान्तिपुर टिभिका पूर्व पत्रकार सुरेन्द्र पाण्डे भित्रिएका छन् । पाण्डेसँगै पत्रकार श्री पाण्डे र विकाश थपलिया पनि इमेज च्यानलमा आवद्ध भएको बताइएको छ । श्री पाण्डे समाचार वाचिका थिइन् । इमेज च्यानलमा कान्तिपुर टिभिबाट अझै भित्रिने अवस्था रहेको इमेजमा पुगेका पत्रकारहरु बताउँछन् । कान्तिपुर टिभिबाटै पत्रकार दीपक आचार्य र रमेश धमला पनि इमेज च्यानलमा मिसिएका छन् । पछिल्लो समय कान्तिपुर टिभिबाट ‘गोल्डेन हेण्डशेक’मार्फत अरु ठूलो संख्यामा पत्रकार बाहिरिएको सूचना प्राप्त भएको छ ।
यता, राजधानी दैनिकका संपादक सरोज मिश्र बाहिरिएपछि डिल्ली आचार्य पुगेका हुन् । आचार्यसँगै राजधानीको समाचार संयोजकमा यसअघि ललित सन्देश अनलाइनमा कार्यरत अमृत तिमल्सेना भित्रिएको खवर छ । आचार्य वडापालिका डट कम छाडेर राजधानीको मोर्चासमाल्न पुगेका हुन् । यहीबिचमा रातोपाटी अनलाइनका पत्रकार काशीराम बजगाईं पनि बाहिरिएका छन् ।
यी पत्रकारसँगै ग्यालेक्सी–४ के छाडेपछि फ्याक्ट क्रियसनको म्यानेजिङ डाइरेक्टर हुँदै नेपाल एजको संपादक बनेका पत्रकार नवराज पाण्डे माउण्टेन टेलिभिजन पुगेका छन् । यस्तै पत्रकार निर्दोष घोरसाइने नेपालखबर डटकम पुगेका छन् । घोरसाइने आर्थिक अनलाइन् ईक्विटी नेपाल छाडेर नेपाल खबरमा फड्को हानेका हुन् । गोरखापत्रको निमित्त प्रधान संपादकबाट २०८२ जेठमा विदाई भएका शिवकुमार भट्टराई एभिन्युज टेलिभिजनमा जोइन भएका छन् । यता, त्रिभुवन विश्वविद्यालय सेवा आयोगले खुल्ला प्रतियोगिताबाट उप–प्राध्यापक पदमा स्थायी नियुक्ति भएपछि मध्यान्ह दैनिकको संपादकबाट घनेन्द्र ओझा पनि अलग भएका छन् । पत्रकार आतेजाते भइरहेका बेला कान्तिपुर दैनिक, नागरिक, नयाँ पत्रिका दैनिक, न्यूज–२४ दैनिक, खबर हव, रातोपाटी, सेतोपाटी, शिलापत्र अनलाइन लगायतमा अनुभवी पत्रकारको खोजी भइरहेको बुझिएको छ ।
जब चाडबाड नजिकिन्छ,
तब पत्रकारलाई पिरलो
पत्रकारहरुले सरकारले तोकिदिएको न्यूनतम पारिश्रमिकमा समेत नपाउँदा चाडबाडका बेला सधैं तनावमा हुने गर्दछन् । सञ्चार संस्थाले दिनरात काममा दलाएर पत्रकारलाई नियुक्ति पत्र र न्यूनतम पारिश्रमिकबाट बञ्चित गर्ने गरेको हरेक अनुगमनले देखाउँदै आएको छ । यही कारण पछिल्लो समय ठूलो संख्यामा पत्रकारिता पेशाबाट पलायन हुँदै वैकल्पिक उपायतर्फ मोडिन थालेका छन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको पछिल्लो एक अध्ययनका अनुसार न्यूनतम पारिश्रमिक पाउनेमा ३५.७ प्रतिशत मात्रै श्रमजीवी पत्रकार छन् । पत्रकारका विभिन्न तहमध्ये रु. १९ हजार ५ सय राष्ट्रिय सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारको सुरुको पारिश्रमिक रहेको छ । ३२.३ प्रतिशतले न्यूनतमा पारिश्रमिक पाएका छैनन् । सबैभन्दा बढी ३५ प्रतिशत रेडियो माध्यममा कार्यरत श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक नपाएको अवस्था उजागर भएको छ । सबैभन्दा कम १८ प्रतिशत अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारले न्यूनतम पारिश्रमिक पाएका छैनन् । २० प्रतिशत टेलिभिजनमा र २७ प्रतिशत विभिन्न पत्रपत्रिकामा कार्यरत पत्रकारहरुले न्यूनतम पारिश्रमिक नपाएको अवस्था तथ्याङ्कले देखाएको छ ।
समितिका अनुसार नियुक्तिपत्र पाउने श्रमजीवी पत्रकारको संख्या १३ प्रतिशत मात्रै रहेको छ । १५ प्रतिशत श्रमजीवी पत्रकारले नियुक्तिपत्र विनै काम गरिरहेका छन् । ७२ प्रतिशत पत्रकारले जागिरका निम्ति सञ्चालकको हितमा सम्झौता गरेका छन् । पछिल्लो समय पत्रकारको विदेश पलायन र विस्थापनको अवस्था समेत डरलाग्दो देखाएको छ । (साँघु साप्ताहिक, २०८२ भदौ ९)
प्रतिकृया दिनुहोस