• बिहीबार-भदौ-१२-२०८२

शेखर–अमरेश गठबन्धनः कांग्रेसभित्र नयाँ खेल, एमाले–कांग्रेस सत्ता भत्काउने !

 

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंह नेपाली राजनीतिमा सधैं विवादको केन्द्रमा रहने पात्र हुन् । कहिले दिल्लीको प्रतिनिधि भनेर आलोचित हुन्छन्, कहिले कांग्रेसभित्रै खेल खेल्छन् । अहिले फेरि उनी शेखर कोइरालासग हातेमालो गरेर नयाँ राजनीतिक खेल खेलिरहेका छन् । उनीबारे प्रशंसा कम, तर प्रश्न धेरै उठाइन्छ । 


२०६३ सालको अन्तरिम संविधान निर्माणमा पनि उनको भूमिका विवादास्पद र शंकास्पद थियो । सात दल र माओवादीबीच सहमति गरेर मात्र संविधान टुंग्याइनुपर्ने संवैधानिक नियम विपरीत, आठौंं हस्ताक्षरकर्ता बनेका अमरेशलाई “दिल्लीका प्रतिनिधि”को हैसियतमा संविधान जारी प्रक्रियामा घुसाइएको थियो भन्ने तथ्य त्यतिबेलै सार्वजनिक भएको हो । यसले उनको नाममा तत्कालीन भारतीय सत्तासँगको प्रत्यक्ष गाँसिनेसम्मको आरोप टाँसियो । २० वर्षपछि पनि उनको राजनीतिक शैली उस्तै छ–प्रश्नास्पद, आक्रामक र सधैं सत्ता समीकरण तोडफोड गर्ने दिशामा केन्द्रित ।


शेखर–अमरेश गठबन्धन : कांग्रेसभित्रको नयाँ खेल
नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका अमरेश सिंहलाई शंकास्पद चरित्रका भन्दै शेर वहादुर देउवाले कांग्रेसबाट निष्काशन गरेपछि अहिले स्वतन्त्र सांसदका रूपमा छन् । तर, उनको सक्रियता कांग्रेसभित्र भाँडभैलो मच्चउन केन्द्रित रहेको स्रोत बताउछ । पार्टीबाट निष्काशित भएको आक्रोशलाई उनले कांग्रेसभित्रैबाट  सभापति शेर वहादुर देउवासँग बदला लिने अवसरमा बदलिरहेका छन् ।


यस्तै अवस्थामा हिजोआज डा. शेखर कोइरालासँग उनको घनिष्ठता बढेको छ । कांग्रेसभित्र शेखर कोइरालाको नेतृत्वलाई संस्थापन खेमाले दबाइराखेको अवस्थामा अमरेश सिंह “सशक्त सहयोगी” बनेर उभिएका छन् । तर, शेखरका निकट नेताहरू नै भन्छन्–“अमरेशलाई काँध चढाउँदा शेखरको डुंगा किनार लाग्छ कि ढुंगामा ठोक्किन्छ, भन्न सकिने अवस्था छैन ।”
यसैबीच, अमरेशको सक्रियतामा शेखर कहिले प्रचण्डलाई भेट्न पुग्छन्, कहिले रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेसँग गफिन्छन् । यसले शेखरलाई “संस्थापन–इतर शक्ति केन्द्र” को अग्रणी पात्र बनाउन थालेको छ ।


महागठबन्धनको खाका : एमाले–कांग्रेस भत्काउने अभियान
माओवादी निकट स्रोतका अनुसार, अमरेश सिंह नै प्रचण्ड, शेखर कोइराला, माधवकुमार नेपाल र स्वर्णिम वाग्लेबीचको “गुप्त महागठबन्धन” का संयोजकजस्तै बनेका छन् । यस गठबन्धनको प्रमुख लक्ष्य अहिलेको एमाले–कांग्रेस सत्ता सहकार्यलाई भत्काउने र नयाँ समीकरण खडा गर्ने रहेको स्रोत बताउछ । यो अभियान सफल भएमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बाटो रोकिनेछ । यो योजना २०८२ सालभित्रै कार्यान्वयन गर्ने गरी खाका कोरिएको माओवादी स्रोतको दाबी छ ।


दिल्लीसँग दूरी, देउवालाई घेराबन्दी
सबैभन्दा रोचक कुरा, अमरेश सिंह हाल नयाँ दिल्लीको सत्ता संरचना र काठमाडौंस्थित भारतीय राजदूतावास दुवैबाट ‘अस्वीकृत’ भइसकेका छन् । उनी त्यहाँको ढोकामा प्रवेश–प्रतिबन्धित भएका छन् भन्ने कुरा नेपाली र कूटनीतिक वृत्तमा खुलेरै चर्चा भइरहेको छ ।


कहिल्यै दिल्लीको ढुंग्रोमा देखिएका अमरेश आज दिल्लीकै ढोकाबाट रोकिएका छन् । तर यसले उनको बदलाभाव र आक्रामकता झन् बढाएको देखिन्छ । कांग्रेसबाट निष्काशन पाउँदा लागेको पीडालाई उनले शेरबहादुर देउवालाई राजनीतिक रूपमा डुबाएर चुकाउने मनसाय बनाएको स्रोतहरू बताउँछन् ।


अन्तिम प्रश्न
अब सबैको प्रश्न एउटै छ –

अमरेशले शेरबहादुर देउवालाई डुबाउँछन् ? वा डा. शेखर कोइरालाकै राजनीतिक भविष्य संकटमा पार्छन् ?
प्रश्न खुला छ । तर यत्रो प्रष्ट छ – अमरेश सिंह फेरि पनि नेपाली राजनीतिमा मुख्य खेलाडी बन्न खोजिरहेका छन ।


निष्कर्ष
अमरेश कुमार सिंह नेपाली राजनीतिमा वाह्यशक्तिको आडमा “पाश्र्व भूमिकाबाट मुख्य खेलाडी” बन्ने असाध्यै कला भएका व्यक्ति हुन् । २०६३ सालको अन्तरिम संविधानमा देखिएको उनको भूमिका आज पनि राजनीतिक सन्दर्भमा पुनः झल्किएको छ । अबको प्रश्न हो–उनले डा. शेखरलाई काँध चढाएर नेपाली राजनीतिमा नयाँ समीकरण जन्माउँछन् कि शेखरकै भविष्य डुबाउँछन् ? (साँघु साप्ताहिक, २०८२ भदौ ९)
 

प्रतिकृया दिनुहोस