• शुक्रबार-भदौ-२०-२०८२

मन्त्री अधिकारीले डिजी नफेर्नुको रहस्य के ?

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पोखराको लिची बगैंचाको जग्गा दर्ता गर्न भूमिसुधार तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख चिरञ्जीवी पौडेलको थमौती र सरूवामा लाखौं घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक हुँदासमेत लज्जाबोध गरेका छैनन् । अझ यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेले कुनै उनीसँग स्पष्टीकरण सोध्ने आँट त परै जावोस् कारवाही नगरेकोमा पार्टी पंक्तिबाटै व्यापक रुपमा आलोचना भइरहेको छ । मन्त्री अधिकारीकै कारण एमाले पार्टी र प्रधानमन्त्री ओलीको सुशासनप्रतिको प्रतिवद्धत पनि धूलिसात् हुन गएको छ ।


खासगरी पार्टी महासचिव शंकर पोखरेलको आशीर्वाद मन्त्री अधिकारीमाथि रहेकोले पनि प्रधानमन्त्री ओलीले उनलाई हटाउने आँट गर्न नसकेको चर्चा चल्ने गरेको छ । त्यसैले पनि मन्त्री अधिकारीमाथि जतिसुकै अनियमितताको आरोप लागेपनि टसमस नभएर मन्त्रालयको नेतृत्व गरिरहेका छन् । अझै उनी मन्त्रिपरिषद हेरफेर हुनु अगावै मन्त्रालय, विभागमा कार्यरत कर्मचारीहरुलाई आफ्नो स्वार्थ अनुकूल हुनेगरी मालमोत र नापी कार्यालयहरुमा सरुवा गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने योजनामा लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


त्यसपछि मात्र भूमि व्यवस्था तथा अभिलेख विभागका नेतृत्व परिवर्तन गर्ने सोच र योजनामा रहेको बताइन्छ । यो महिनाभर उपसचिव, त्यसपछि विभागले मालपोत अधिकृत, खरिदार, नायब सुब्बा सरूवामा तलदेखि माथिसम्म करोडौं रकम उठाउने ध्याउन्नमा मन्त्रालयको नेतृत्व लागेको चर्चा छ । त्यसपछि मन्त्रालयको प्रशासन महाशाखा प्रमुख एवम् सहसचिव मदन कोइरालालाई विभागको नेतृत्वमा खटाउने तयारी गरेको स्रोत बताउँछ ।


त्यसका लागि मन्त्रालय चाहारेर दिन बिताउने बिचौलिया प्रमोद खड्काको मन्त्री अधिकारीसँग प्राय मन्त्री निवास भैंसेपाटीमा निरन्तर रुपमा उठबस हुने गरेको स्रोतले दावी गरेको छ । सहसचिव कोइरालालाई अहिले नै महानिर्देशकको जिम्मेवारीमा खटाउँदा मन्त्री अधिकारीको सचिवालय र बिचौलिया खड्काको प्रस्ताव अनुसार काम नहुने आशंकाले हिम्मत गर्न सकिरहेका छैनन् । मन्त्री अधिकारीले तुलनात्मक रूपमा सोझा, इमानदार महानिर्देशक शिवप्रसाद रेग्मीका काँधमा बन्दुक राखेर भदौ महिनाभर  शुभलाभको साथ कर्मचारी सरूवा गर्र्ने ध्याउन्नमा लागेको स्रोत बताउछ । 
यही महिनाभित्र दुई वर्षअवधि पूरा गरेका दुई सयभन्दा बढी कर्मचारीहरुलाई मन्त्रालय र विभागले आफू अनुकूल सरूवा गर्ने तयारी थालेको स्रोतको भनाई रहेको छ । आकर्षक र मालदार कार्यालयमा सरूवा हुन मन्त्री अधिकारीका निजी सचिव, सचिवालयका कर्मचारीहरुले दररेट नै तोकेर दशैं खर्च उठाउन सुरु गरिसकेको कर्मचारीहरु बताउछन् ।


भर्खरै मात्र मन्त्री अधिकारीले कास्की मालपोत प्रमुखमा उपसचिवलाई खटाइ सकेका छन् । कास्कीमा कार्यरत चिरन्जीवी पौडेललाई भने चितवनमा सरूवा गरिएको छ । पौडेलसँग रु। ७० लाख हात पारेको चर्चालाई सामसुम पार्न उनलाई चितवनमा सरुवा गरिएको अनुमान गरिएको छ । मन्त्रालयको यस्ता हर्कत थाहा पाएपछि भरखरै सरुवा भएका सहसचिव धु्रव घिमिरे मन्त्रालयमा नजाने सोचमा पुगेको चर्चा छ । (साँघु साप्ताहिक, २०८२ भदौ १६)
 

प्रतिकृया दिनुहोस