काठमाडौं । ०८२ जेठ ५ गते उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत सचिव मधुप्रसाद भेटुवालले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । उनले राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा करिब ५ महिना मात्र सेवा गर्ने अवसर प्राप्त गरेका थिए । उनको अवकाशसँगै रिक्त प्राबिधिक सचिवको बढुवा हुन सकिरहेको छैन । यतिखेर सचिव बढुवाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका सहसचिव दिनानाथ मिश्र, उर्जा मन्त्रालयका सुई चिरञ्जीवी चटौत र जल तथा उर्जा आयोगका कार्यरत सुई जगदिश्वर कर्माचार्यकाबिचमा सचिव बढुवाका लागि प्रतिस्पर्धामा रहेको बताइन्छ ।
यी तीनमध्ये चटौतलाई सचिव बढुवा गर्न नेपाली काँग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा निवास बुढानीलकण्ठको दबाब परेको बताइएको छ यी तीनध्ये विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत मिश्र सबैभन्दा वरिष्ठ र सिनियर सहसचिव मानिन्छन् । त्यसपछि दोस्रो वरीयतामा ऊर्जा मन्त्रालयमा कार्यरत सहसचिव चटौत र तेस्रोमा जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत सहसचिव जगदिश्वर कर्माचार्य रहेको समाचार स्रोतले जानकारी दिएको छ ।
तर, बुढानीलकण्ठको दबाब भने सुदूरपश्चिम निवासी सहसचिव चटौतलाई सचिवमा बढुवा गर्नुपर्ने रहेको स्रोत बताउँछ । जसका कारण सिनियर सहसचिव हुँदाहुँदै यसपटक पनि मिश्रलाई पछाडि पार्न लागिएको आशंका स्रोतले गरेको छ ।
जबकि, २०७० बैशाखमा सहसचिवमा बढुवा भएका मिश्र दुई पटक एक नम्बरमा नाम सिफारिस भएर पनि सचिव बढुवा हुनबाट बञ्चित हुँदै आएका छन् । पहिलोपटक एक नम्बरमा सिफारिस हुँदा दोस्रो नम्बरका रामप्रसाद घिमिरेले बाजी मारेका थिए । घिमिरे सचिव बढुवा भएर पनि अवकाशमा गइसकेका छन् । दोस्रोपटक पनि सचिव बढुवामा सिफारिस भएका उनलाई दोस्रो नम्बरका निवर्तमान सचिव भेटुवालले पछि पारेका थिए । यतिखेर तेस्रोपटक सचिवमा बढुवाका लागि एक नम्बरमा सिफारिसमा परेका उनै मिश्रलाई सुदूरपश्चिम निवासी चटौतले पछि पार्न सकिने आशंका गरिएको छ ।
एमालेको अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारले वर्तमान गृहसचिव रहेका गोकर्णमणि दुवाडीलाई सचिव बढुवामा यस्तै रवैया अपनाएको छ । दुवाडीलाई छैठौं पटकसम्म एक नम्बरमा राखेर बढुवाका लागि सिफारिस गर्दा पनि बढुवा गरिएको थिएन । उनी छैठौं पटकको सिफारिसमा मात्र सचिवमा बढुवा हुन सफल भएका थिए । यतिखेर मिश्रको हाल पनि त्यस्तै हुने होकि भन्ने आशंका गरिएको छ । निजामती सेवा ऐन नआएको खण्डमा र अवकाशको ५८ वर्षे उमेर हद कायम रहँदा मिश्र आगामी २०८३ चैत २ गते अनिवार्य अवकाशमा जानेछन ।
सहसचिव चटौत भने आगामी २०८३ असार १४ मात्र ५८ वर्ष उमेर हदका कारण अवकाशमा जाने स्रोत बताउँछ । सहसचिव कर्मचार्य भने हाल सचिव बढुवा नहुँदा पनि ५८ वर्ष उमेरहद कायम रहँदासमेत लगभग पूरा अवधि सचिवमा बस्न पाउने भाग्यमानीमा परेका छन् । हाल रिक्त रहेको एक प्राबिधिक सचिवमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बस्ने सचिव बढुवा सिफारिस समितिको बैठकले तत्कालै तीनजनाको नाम अगाडि सार्ने तयारी गरेको बताइन्छ ।
उक्त सिफारिसमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखमा कार्यरत रहेका मिश्र तेस्रोपटक सचिव बढुवाका लागि एक नम्बरमा सिफारिसमा पर्नेछन् । त्यसपछि सहसचिव चटौत र तेस्रो नम्बरमा कर्माचार्यलाई सिफारिस गर्ने तयारी भइरहेको छ । रोचक विषय त चटौत र कर्माचार्य एकैदिनमा सहसचिव बढुवा भएका थिए । हाल मिश्र वा चटौत मध्ये कुनै एकको बढुवा भएको खण्डमा आगामी २०८२ भदौ १४ गते ऊर्जा मन्त्रालयको सचिव सुरेश आचार्यले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै अर्को एकजना बढुवामा पर्नेछन् । (साँघु साप्ताहिक, २०८२ जेठ १२)
प्रतिकृया दिनुहोस