• शुक्रबार-जेठ-१६-२०८२

भक्तपुरको सार्वजनिक जग्गा चौतर्फी अतिक्रमण ! : एक सय आठ रोपनी जग्गा ७५ रोपनी मात्रै बाँकी  

 

भक्तपुर । नेपाल ट्रष्टका नाममा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कित्ता नं ५ सय ४० को १ सय ८ रोपनी दुई आना एक पैसा क्षेत्रफलको जमिन रहेको छ । उक्त जग्गा हाल सबैतिरबाट भू–माफियाहरूले अतिक्रमणमा पर्दा फिल्डमा भने जम्मा ७५ रोपनी मात्र सीमित रहेको स्थानीय बासिन्दाहरु बताउँछन् । सडक विस्तारका क्रममा र स्थानीयहरूको अतिक्रमणमा पर्दा ३३ रोपनी दुई आना एक पैसा जग्गा नै गायव भएको स्थानीयहरुको भनाई रहेको छ ।


उक्त जग्गाको चारैतिर सडक निर्माण र सार्वजनिक हितका लागि प्रयोग गर्दा २० रोपनी जग्गा उपयोग गरिएको स्थानीय बासिन्दा, भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरले जानकारी दिएको छ । त्यसबाहेक करिब १३ रोपनी जग्गा वरपरका सँधियार र भू–माफियाले मिचेर व्यक्तिगत र नक्कली गुठी छुट दर्ता गरी व्यक्तिगत घर निर्माणमा उपयोग गरेको बताइएको छ । भक्तपुरस्थित अरनिको हाइ वे सल्लाघारी तीनकुनेमा अवस्थित उक्त जग्गा तत्कालीन राजा महेन्द्र शाहकै पालामा उनका कान्छा छोरा धीरेन्द्र शाहको लागि भनि खरिद गरिएको बताइन्छ ।

 


सरकारले २०२४ सालमा १ सय ८ रोपनी दुई आना एक पैसा जग्गा प्रति रोपनी एक हजार रूपैयाँका दरले स्थानीय बासिन्दासँग खरिद गरिएको जानकार स्रोत बताउँछ । सो जग्गा त्यसबखत एक लाख ८ हजार रूपैयाँ क्षतिपूर्ति दिएर अधिग्रहण गरिएको थियो । यो जग्गाको पूर्वतिर सल्लाघारी, पश्चिममा सिर्जनानगर, उत्तरमा दुवाकोट, यातायात कार्यालय र दक्षिणमा कोटेश्वर–सूर्यविनायक हाइ वेको कटुन्जे नेताचोक पर्दछ ।

 

पञ्चायतकाल र बहुदलीय व्यवस्थामा भने सो जग्गामा खुलाचौर नै रहेको थियो । घेरवारसमेत नगरी पर्खाल पनि लगाइएको थिएन । सामान्य तारजाली लगाएर राखिएको थियो । त्यहाँ स्थानीय युवा र केटाकेटीहरुले फुटबल, भलिबल खेल्ने मैदानको रुपमा उपयोग गर्दै आएका थिए । अनि साइकल, स्कुटी, मोटर साइकल र सवारी साधन सिक्ने ठाउँको रुपमा उपयोग हुँदै आएको थियो ।


संघीय गणन्त्रपछि बढी अतिक्रमण
पञ्चायतकालमा भने अधिराजकुमारको जग्गा भएकोले पनि कमै अतिक्रमण परेको थियो । ०४६ सालमा मुलुकमा बहुदलीय व्यवस्था स्थापना पश्चात पनि त्यति धेरै जग्गा अतिक्रमणमा नपरेको स्थानीय बासिन्दाहले दावी गरेका छन् । सरकारले सडक विस्तार गर्दा मापदण्डभित्र पर्ने जग्गा उपयोग गरी सडक र पेटी निर्माण गरेको थियो ।


तर, २०६२÷०६३ को जनआन्दोलनपछि पूर्व राजाको सम्पत्ति नेपाल ट्रष्ट कार्यालयमा राख्ने निर्णय गरियो । ट्रष्टको नाममा ल्याइएपछि भने अतिक्रमण गर्ने कार्य निकै बढेको गुनासो स्थानीयहरुले गरेका छन् । अझ संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षमा स्थानीय बासिन्दा र भू–माफियाहरूले सरकारी जग्गा भन्दै अतिक्रमण गरेर व्यक्तिगत, गुठीका नाममा दर्ता गरी घर बनाउने र बिक्री गर्ने कार्य बढ्दै गएको बताइन्छ । यो नेपाल ट्रष्टको नाममा रहेको जग्गा करिब २० रोपनी जति सडक बाटोमा परेको छ ।


करिव १३ रोपनी स्थानीय बासिन्दा र भू–माफियाहरूले व्यक्तिगत र गुठीका नाममा अतिक्रमण गरी दर्ता गरेर उपयोग गरेको स्रोत बताउँछ । कतिपयले बिक्रीसमेत गरेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन् । नेपाल ट्रष्टको नाममा रहेको सो जग्गामा नेपाल मजदुर किसान पार्टीका नेता तथा कार्यकर्ताहरुले बढी आँखा लगाएको बुझिएको छ ।


नेमकिपा र स्थानीयले लगाए आँखा !
अध्यक्ष नारायणमान बिजुक्छे, भक्तपुरका संघीय प्रतिनिधिसभाका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले अतिक्रमणको विषयमा खासै चासो नदेखाएकाले स्थानीयले आश्चर्य मानेका छन् । सोही पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले उपयोग गर्न पटक–पटक आँखा लगाउदै आएको बताइएको छ । नेमकिपाले आफ्नो आठौं महाधिवेशनको उद्घाटन कार्यक्रम पनि यही जग्गामा गरेको थियो ।


हाल उक्त जग्गामा नेपाल ट्रष्टले चारैतिर पर्खाल लगाई संरक्षण गर्दै आएको छ । तरपनि लामो समयदेखि भक्तपुर नगरपालिकाले सो जग्गामा इन्जिनियरिङ कलेज स्थापना गरी सञ्चालन गर्न नेपाल ट्रष्ट कार्यालयमा पत्रचार गरेको बताइन्छ । यो विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग पनि भक्तपुर नगरपालिकाले पनि छलफल गरिरहेको स्रोतको भनाई रहेको छ । जग्गाको उत्तर–पश्चिमतिर हालको यातायात सेवा कार्यालय छेउमा तीनवटा ढुंगेधारा रहेको जानकारहरु बताउँछन् ।


साथै, कुनै बेला ठुलो पिपलको रुख र चौतारोसमेत रहेको थियो । ढुंगेधार सुकेपछि स्थानीय विपुललाल महर्जनले नेमकिपाको राजनीतिक शक्ति प्रयोग गरेर ढुंगेधारा पुरेर र पिपलको चौताराको जग्गासमेत मिचेर जग्गाको छुट दर्ता र गुठी जग्गा दर्ता गरी ५ तले आलिसान घर ठडाएको स्थानीयहरुको भनाई रहेको छ । उक्त स्थानमा २०३० सालसम्म गुठी र ऐलानी जग्गा थिएन । २०२८ सालको नापीमा सबै रैकर जग्गा दर्ता भएको थियो ।


तर, २०३२ सालमा स्थानीय विपुललालले धीरेन्द्र शाहको जग्गा मिचेर छाप्रो हालेका थिए । २०४६ सालमा बहुदल आएपछि नख्खु जेलबाट छुटेका नेमकिपाका नेताहरू नारायणमान बिजुक्छे रोहित, ज्ञान बहादुर न्याइच्याई, प्रेम सुवाललगायतको राजनीति शक्ति र आडभरोसामा उक्त जग्गा मिच्न र अनाधिकृत रूपमा अतिक्रम गर्र्नेक्रम विस्तारै बढ्न थालेको जानकार स्रोतले दावी गरेको छ । 


सार्वजनिक चौतारो नष्ट गरेर महल
सत्ता वा सरकारमा जुन राजनीतिक दल पुगेपनि सरकारी र सार्वजनिक जग्गा मिच्ने, अतिक्रमण गर्ने, व्यक्ति र गुठीका नाममा दर्ता गर्नेक्रम अझैसम्म पनि रोकिन सकेको छैन । सो जग्गामा नेमकिपाले इन्जिनियरिङ कलेज बनाउने चर्चा चलिरहँदा सरकारले सार्वजनिक बसपार्क बनाउनु पर्छ भन्दै आएको छ । स्थानीय जनताहरूले भने खुला चौर राखेर हरियाली पार्क बनाउन सरकार र भक्तपुर नगरपालिकाका मेयरसँग माग गरिरहेको जानकार स्रोत बताउँछ ।


यो नेपाल सरकारको जग्गा भएकाले नेपाल सरकारले सार्वजनिक प्रयोजनमा उपयोग गर्न भने सक्छ । अर्काेतिर, हाल यस्ता जग्गा आफ्नो कब्जामा लिनका लागि केही पुनरउत्थानवादी, राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने नाममा आन्दोलन गर्दै यी र पूर्व राजपरिवारको नामका जग्गा हत्याउन पनि भित्रभित्रै सक्रिय रुपमा लागेका छन् । राजतन्त्र फर्कियो भने राजा ज्ञानेन्द्र शाहले पनि यो जग्गा पुनः कब्जा र्ग सक्ने सम्भावना पनि त्यत्तिकै बलियो रहेको आशंका गरिदैछ ।


२०७६ सालमा यो जग्गामा पर्खाल लगाएर नेपाल ट्रष्टले तीनवटा ढोकामा ताला लगाई सुरक्षाकर्मीसमेत खटाएको थियो । तर, भक्तपुर नगरपालिकाले भने लगाएको ताला फोडेर सुरक्षा गार्ड प्रवेश गरेको आरोप लगाउदै अनाधिकृत रूपमा कब्जामा लिएर राखेको थियो ।


नेपाल ट्रष्टले आफ्नो नामको जग्गाको संरक्षण गर्ने भन्दै २०७६ मंसिर १ गतेदेखि लागू हुने गरी अस्थायी पोष्ट स्थापना गरेको र सुरक्षा गार्ड राखेपनि नगरपालिकाले उनीहरुलाई जबर्जस्ती कब्जामा लिएर धम्की दिएको थियो ।


ट्रष्टको जग्गा संरक्षणका लागि खटाइएका सुरक्षा गार्डलाई नगरपालिकाबाट आएका करिब १६ जना नगर प्रहरी र अन्य कर्मचारीले नियन्त्रणमा लिएका थिए । उनीहरुलाई नियन्त्रणमा लिएको दुई घण्टापछि प्रहरीले उद्धार गरी मुक्त गरेकोे थियो । नेपाल ट्रष्टले सो जग्गामा २४ घण्टा सुरक्षा गार्ड तैनाथ गर्नेगरी गोरखकाली सेक्युरिटीका तीन सुरक्षाकर्मीलाई परिचालन गरेको थियो । तर, ड्युटीमा रहेका सुरक्षा गार्ड आशिष बमलगायतलाई नगरपालिकाले नियन्त्रणमा लिएर धम्क्याएको थियो ।


सुरक्षाकर्मीलाई नगरपालिकाले कार्यालयमा लगेर नियन्त्रणमा लिएको र भक्तपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख एसपी सविन प्रधानलाई जानकारी गराएपछि सुरक्षागार्ड बमलाई प्रहरीले उद्धार गरी नियन्त्रणमुक्त गरेको स्रोतले बताएको छ ।


नगरपालिकाले पनि लगायो नजर 
सुरक्षाकर्मी परिचालन गरेको विषयमा भक्तपुर नगरपालिकाले नेपाल ट्रष्ट कार्यालयसंँग सोधपुछ गर्नुपर्नेमा त्यसो नगरेको पाइएको छ । उल्टै नगरपालिकाले सुरक्षाकर्मीलाई नै उठाएर लैजानु गलत भएको भन्दै तत्कालीन प्रजिअ भट्ट र एसपी प्रधानले नगरपालिकाका पदाधिकारीको गलत कार्यशैली भन्दै संझाउनु परेको थियो ।


एउटा जिम्मेवार स्थानीय सरकारले कानूनी राज्यको उपहास गरेको भन्दै त्यसबखत आचोचनासमेत गरिएको थियो । सरकारको नीतिअनुसार मुलुकभर रहेका तत्कालीन स्व. राजा वीरेन्द्र  शाह, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र शाहलगायतको नाममा रहेका सम्पत्तिको सम्पत्ति संरक्षण गर्ने उद्देश्यले नेपाल ट्रष्टमा ल्याउने कार्य गरिएको थियो । त्यसअनुसार भक्तपुरको उक्त जग्गामा पनि ट्रष्टले तीनतिर बोर्ड राखेर ताल्चा लगाई सुरक्षाकर्मी राखेको थियो ।


नगरपालिकाबाट आएका व्यक्तिले नै ट्रष्ट प्रमुखलाई नसोधी किन बोर्ड राखेको र ताला काटेर किन ट्रष्टले लगाएको भन्दै सुरक्षा गार्डलाई अभद्र व्यवहार गरेको बताइएको छ । सरकारी र सार्वजनिक जग्गाको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी स्थानीय तहको कार्यक्षेत्र भित्र पर्दछ । तर, नेपाल ट्रष्टको नाममा रहेको जग्गा नगरपालिकाले अनाधिकृत रूपमा कब्जा गर्न खोज्नु र आँखा लगाउनु उचित होइन भन्दै स्थानीय राजनीतिक दलहरुले विरोध गर्दै आएका छन् ।


ट्रष्टका अधिकारीहरूले उक्त जग्गाको अनुगमन गरी नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भेटघाट गरी ट्रष्टले नै संरक्षण गर्नुपर्ने जानकारी गराएका थिए । ट्रष्ट सञ्चालक समितिका तत्कालीन सचिवले पनि ट्रष्टका नाममा लालपुर्जा रहेको र नगरपालिकाले स्वीकृति नलिई पर्खाल लगाउने र भाडामा लगाएको बिषयमा असनतुष्टि जनाएका थिए । 


ट्रष्टको नेतृत्व फितलो
नेपाल ट्रष्टको स्थापना जनआन्दोलन २०६२/६३ को भावना र चाहनालाई सम्बोधन गर्नेक्रममा गरिएको थियो । आन्दोलनको बलबाट जब तत्कालीन व्यवस्थापिका संसदको पुनस्र्थापना भई नेपालको अन्तरिम संविधान, २०६३ को निर्माण गरियो । सोही बमोजिम ट्रष्टको स्थापना गर्दै राजपरिवार र निजहरुको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याइएको थियो ।


सोही मुताविक नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी गर्दै नेपाल ट्रष्ट स्थापना भएको बताइन्छ । प्रधानमन्त्री संरक्षक रहेको ट्रष्टको सञ्चालक समितिको अध्यक्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका छन् । ट्रष्टको सचिव भने राम आधार साह रहेका छन् । यतिखेर यस्ता सम्पत्तिको खोजवीन, ट्रष्टमातहत आएका जग्गा संरक्षण र अध्ययन गर्न असफल भएको होकि  भन्ने प्रश्न उठ्न थालेका छन् ।


भक्तपुर सल्लाघारीको १ सय ८ रोपनी जग्गाको नापजाँच गरी कस–कसले जग्गा मिचेका छन, यो छुट्ट्याएर मिचिएको जग्गा ट्रष्टका नाममा ल्याउने दायित्व र जिम्मेवारी ट्रष्टका अध्यक्ष मन्त्री अधिकारी, सचिव  साह र भूमि व्यवस्था सचिव केदारनाथ शर्माको काँधमा रहेको छ । तर, उनीहरू जसरी लाग्नुपर्ने त्यसरी लागेको पाइँदैन । ट्रष्टका नाममा १६ जिल्लामा २७ हजार रोपनी जग्गा रहेको बताइन्छ । उक्त जग्गाको संरक्षण गर्ने कर्तव्य भने ट्रष्टको जिम्ममा रहेको छ । (साँघु साप्ताहिक, २०८२ जेठ १२)

प्रतिकृया दिनुहोस