• शुक्रबार-जेठ-१६-२०८२

गृह मन्त्री र सचिव किन भए बद्नाम ?

 

काठमाडौं । मानव तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमार्फत धन्दा चलाएको आरोप गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीमाथि लागेको छ । अझ अध्यागमनको भिजिट भिषा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयमातहत निकायमा कार्यरत सहसचिवलगायत केही कर्मचारीलाई सोधपुछ गरेको घटनाले नेतृत्वकर्ताहरु नै आलोचित हुन पुगेको छ । ०८१ असोज दोश्रो सातामा परेको अविरल वर्षातपछि आएको बाढी पहिरोको विपद् व्यवस्थापनमा गृह मन्त्रालय चुकेको थियो ।


त्यसयतादेखि मन्त्रालयले देखिने गरी कुनै नयाँ काम गर्न सकेको छैन । त्यसबखत नख्खु खोलाले दिनदहाडै बगाउँदा पनि रेस्क्युमा नराम्रोगरी गृह प्रशासन चुकेको थियो । २०८१ चैत १५ गते राजतन्त्रवादी समूहरूले तीनकुनेमा आयोजना गरेका बिरोध प्रदर्शन कार्यक्रममा सुरक्षा व्यवस्थापन गृह प्रशासनले देखाएको ल्याप्सेसका कारण मन्त्री लेखक र सचिव दुवाडी मन्त्रालय सञ्चालनमा असफल मात्र देखिएका छैनन्कि बद्नामसमेत हुन पुगेका छन् । 


सविच दुवाडीकै आडभरोसामा मन्त्री लेखका निजी सचिवालय एवं स्वकीय सचिवहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको सरुवा र बढुवालाई आर्थिक उपार्जनको थलो बनाएको गुनासो पनि सुनिन्छ । मन्त्री लेखकले १० महिना भन्दा बढी मन्त्रालयमा बिताइसकेका छन् । सचिव दुवाडीले ८ महिना मन्त्रालयका काम गर्ने अवसर पाउँदा पनि देशमा शान्ति, सुरक्षा कायम गरेर जनतामा नयाँ आशा र भरोसा दिलाउन सकिरहेका छैनन् । यो अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा–बढुवा मै रमाउँदै आएको बताइन्छ ।


मन्त्रालयले अध्यागमन विभाग, विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, सहायक प्रजिअ, इलाका प्रशासकमा आफू अनुकूलका कर्मचारी खटाउँदासमेत अन्याय गर्ने गरेको गुनासो असन्तुष्ट कर्मचारीले गर्दै आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रालयमा भित्रिएका निजामती कर्मचारीसँग सेटिङका आधारमा आकर्षक, मालदार निकायमा सरूवा गर्नेक्रम रोकिएको छैन । सचिव दुवाडीको निर्देशन बमोजिम नै मन्त्रीको निजी तथा स्वकीय सचिवालय, कर्मचारी प्रशासन महाशाखा प्रमुखहरु सन्तुलितरुपमा नचल्ने गरेको गृह स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८२ जेठ १२)

प्रतिकृया दिनुहोस