• बिहीबार-श्रावण-८-२०८२

उद्योगमा शक्तिशाली उपसचिवहरुको ताँती : पुरी नजाँदै गौतमलाई अनुमतिको जिम्मा

 

काठमाडौं । उद्योग विभागको सुविधा शाखाको निर्देशकका रुपमा पशुपतिबाबु पुरी हाजिर भएका छन् । उनी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा विभागमा सरुवा हुनकै लागि विगत ६ महिनादेखि पर्खाईमा बसेका थिए । हुन त विभागमै सरुवा हुनका लागि मन्त्रालयका प्रशासन शाखाकी प्रमुख लक्ष्मी शाहीले अथक प्रयत्न गरेको चर्चा थियो । तर पुरीका अगाडि शाहीको शक्तिले काम नगरेको कर्मचारीहरु चर्चा गर्दछन् । हाल उद्योग विभागकै घरेलु शाखामा रहेकी उर्मिला खतिवडा र शाहीसँगै उद्योग मन्त्रालयमा प्रवेश गरेका हुन् ।

 

उपसचिवमा बढुवा भएलगत्तै पर्साको जिल्ला समन्वय समितिमा पदस्थापन भएकी खतिवडा कर्णाली प्रदेश मातहतका जिल्लामा सरुवा भएकी शाही एक महिना पनि खटाएको कार्यालयमा काम नगरी शक्ति प्रयोग गरी उद्योग मन्त्रालयमा आएका कर्मचारी हुन् । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको जोडबलमा शाही उद्योगमा आएकी थिइन् । उद्योग मन्त्री दामोदर भण्डारीसँग भेगीय सम्बन्ध रहेका कारण पनि मन्त्रालयमा सरुवा मिलाएर कर्मचारी प्रशासन शाखाको प्रमुख बनेकी थिइन् । 


खतिवडा भने विभागमा फड्को हान्न सफल भएकी थिइन् । अर्थमन्त्रालयको राजस्व सचिव दिनेश घिमिरेकी धर्मपत्नी, लामो समय स्वास्थ्य मन्त्रालयमा बसी दीपक बोहरादेखि उपेन्द्र यादवसम्मका निजी सचिव भइसकेका भवनाथ खतिवडाकी उनी बहिनी हुन् । राजस्व सचिव घिमिरेले तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव रविलाल पन्थलाई चर्को दबाब दिएर खतिवडालाई उद्योगा मन्त्रालयमा सरुवा गराउन सफल भएको चर्चँ हुने गरेको थियो । सरुवा भएको एक हप्तामै विभाग पुग्न सफल खतिवडा घरेलु शाखामा कार्यरत थिइन् । उनै खतिवडाले सुविधा शाखाको निर्देशक बन्न रुची राख्दा महानिर्देशक राजेश्वर ज्ञवालीले पुरीलाई जिम्मेवारी दिएका छन् । पुरीले अनुमति शाखाको निर्देशक बन्ने इच्छा ब्यक्त गरेको सुइँको पाएपछि उनी विभागमा हाजिर नहुँदै  हतार हतार महानिर्देशक ज्ञवालीले सुविधा शाखामा लगेर अनुमति शाखामा आफ्ना विश्वासपात्र उपसचिव सोम गौतमलाई जिम्मेवारी दिएका छन् । 


गौतम विभागभित्रको घरेलु शाखा, ट्रेडमार्क शाखा हुँदै अनुमति शाखाको निर्देशक बन्ने भाग्यमानी उपसचिव हुन् । कांग्रेसनिकट गौतम एमालेका मन्त्री र उनका स्वकीय सचिव आनन्द भट्टलाई प्रभावमा पारी महानिर्देशक ज्ञवालीमार्फत् आकर्षक शाखामा अवसर छोप्न सफल भएका छन् । विभागमा ट्रेडमार्क शाखामा उनी रहँदा  असुलीलाई बढावा दिएको आरोप लाग्दैआएको थियो ।

 

शाखाको मूलढोकामै ताल्चा ठोकेर सेटिङमा लिप्त बिचौलियाहरुलाई मात्र पहुँच दिने नियम बसाएका गौतमको स्थानमा सरोज पोखरेललाई लगिएको छ । गौतमले सुरु गरेको सेटिङलाई भत्काएर सुधारको मार्गमा अगाडि बढाउँछन् वा बढाउँदैनन्, हेर्न बाँकी रहेको कर्मचारीहरु चर्चा गर्दछन् । सुशासनको गफ गर्न माहिर ट्रेडमार्क शाखाकै उपसचिव विष्णु भट्टराई फुयाँलले पनि सेवा प्रवाहमा गति दिएर शाखा सुधार्न नसकेको आरोप छ । (साँघु साप्ताहिक, २०८२ साउन ५)
 

प्रतिकृया दिनुहोस